काठमाडौं, असोज १८ : संसद्को दुईतिहाइ मतले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको ८ महिनामा पूरा भयो । यस अवधिमा पेट्रोलियम पदार्थको मूल्य १० पटक समायोजन भएको छ । यसमध्ये ९ पटक आयल निगमले मूल्य बढाएको छ ।
१० पटकको समायोजनमा पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य एकपटक मात्रै घटेको छ भने ९ पटक बढेको छ । खाना पकाउने ग्यासको मूल्य ९ पटक स्थिर रह्यो भने एकपटक बढेको छ । आन्तरिक र बाह्य हवाई इन्धनको मूल्य पनि एकपटक बढेको छ।
२० फागुन ०७४ मा प्रतिलिटर १०३ रुपैयाँ रहेको पेट्रोलको मूल्य ११ रुपैयाँ बढेर अहिले ११४ रुपैयाँ पुगेको छ । डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ८५ रुपैयाँबाट १०१ रुपैयाँ पुगेको छ । यी दुवैमा प्रतिलिटर १६ रुपैयाँ वृद्धि भएको हो।
१३७५ रुपैयाँ प्रतिसिलिन्डर पाइने गरेको ग्यासको मूल्य १ असोजदेखि बढेर १४०० पुगेको छ । आन्तरिक हवाई इन्धन १९ जेठदेखि प्रतिलिटर ५ रुपैयाँ बढेर सय रुपैयाँ कायम छ । बाह्य हवाई इन्धन पनि सोही मितिबाट प्रतिकिलोलिटर ७५ डलरका दरले बढेर एक हजार ७५ डलर पुगेको छ।
बीचबाटोमै तेल चोरी हुने क्रम बढेपछि निगमले सबै ट्यांकरमा आधुनिक लकिङ प्रणाली जडान गरेको छ । १ चैतबाट सुरु गरिएको अभियानअन्तर्गत आइओसीको डिपोदेखि निगमको डिपोसम्म तेल ओसार्न ट्यांकरमा लकिङ जडान भइसकेको छ ।
अब दोस्रो चरणमा निगमको डिपोदेखि पेट्रोलपम्पसम्म तेल ओसार्ने ट्यांकरमा लकिङ लगाउने प्रवक्ता गोइतले बताए । उनले भने, ‘लकिङ सिस्टमबाट निगमको प्राविधिक नोक्सानीमा उल्लेख्य सुधार भएको छ । चालक, ढुवानीकर्ता र निगमका कर्मचारीलाई तेल अपचलनको आक्षेपबाट समेत मुक्त हुने स्थिति देखिन्छ ।’
कच्चा तेलकै मूल्य बढेपछि नेपालमा पनि असर परेको हो: सुशील भट्टराई निमित्त प्रबन्ध निर्देश, नेपाल आयल निगम
डलर वृद्धि भएका कारणले मात्रै पेट्रोलियम पदार्थको मूल्य महँगो भएको होइन, अन्तर्राष्ट्रिय बजारमै कच्चा तेलको मूल्य बढ्दा नेपालमा असर देखिएको हो । पछिल्लो १५–२० दिनमा ८ प्रतिशतले कच्चा तेलको भाउ बढेको छ । १ सेप्टेम्बर (१६ भदौ)मा ७७ डलर प्रतिब्यारेल रहेको कच्चा तेलको मूल्य अहिले बढेर ८४ डलर प्रतिव्यारेल पुगेको छ।
डलरसँगको विनिमयदर एक रुपैयाँले वृद्धि हुँदा निगमलाई एक महिनामा १६ करोड नोक्सान हुन्छ । त्यसैगरी प्रतिव्यारेल एक डलर कच्चा तेलको भाउ बढ्यो भने निगमलाई प्रतिमहिना १७ करोड भार पर्छ ।
कुल कारोबारको ०.५ प्रतिशत इन्धन चुहावट हुने गरेको निगमको तथ्यांक छ । गत आर्थिक वर्ष निगमले २ खर्बको कारोबार गरेको थियो । ट्यांकर, डिपो र पेट्रोलपम्पबाट हुने वार्षिक एक अर्बको वैधानिक चुहावटबाहेक पनि थप चुहावट हुन्छ, जसको लेखाजोखा छैन ।
निगमको भण्डारणगृहबाटै प्राविधिक तथा तापक्रमका कारण नोक्सानी हुने गरेको छ । ८ वटा इन्धन डिपोमा राखिएको पेट्रोल ०.५७ प्रतिशतदेखि ०.९० प्रतिशतसम्म चुहावट हुने निगम बताउँछ। डिजेल र मट्टीतेल ०.३२ देखि ०.६२ प्रतिशतसम्म, हवाई इन्धन ०.१० देखि ०.६२ प्रतिशतसम्म चुहावट हुने निर्धारण निगमले गरेको छ ।
निगमले पेट्रोलपम्पलाई समेत चुहावट हुने लक्ष्य निर्धारण गरिदिएको छ । डिपोबाट पम्पसम्म लोड, अनलोड गर्दा पेट्रोलमा तापक्रमबापत ०.५० प्रतिशत र कार्यगततर्फ ०.३० प्रतिशत गरी ०.८० प्रतिशत चुहावट हुने लक्ष्यसहित भर्पाई दिने गरेको छ । डिजेल र मट्टीतेलमा तापक्रमबापत ०.३० प्रतिशत र कार्यगत ०.२५ गरी ०.५५ प्रतिशत नोक्सान दर निर्धारण गरेको छ ।