बार्सिलोनाद्वारा टोटनहम पराजित, मेस्सीको दुर्इ गोल

रिपोर्ट नेपाल | 2018 Oct 04 | 09:26 am 3753

एजेन्सी- स्पेनिस क्लब बार्सिलोनाले च्याम्पियन्स लिग फुटबलको समूह चरणमा लगातार दोस्रो जित निकालेको छ । बुधबार राति समूह चरणको दोस्रो खेलमा बार्सिलोनाले इन्ग्लिश क्लब टोटेनहमलाई ४ -२ ले पराजित गर्यो ।

कप्तान लियोनल मेस्सीले दुई गोल गरेपछि बार्सिलोनाले टोटेनहमलाई उसैको मैदानमा हराएको हो । यस्तै बार्सिलोनाका लागि फिलिपे कौटिन्हो र इभान राकीटिचले एक एक गोल थपे । टोटेनहमका ह्यारी केन र एरिक लामेलाले एक एक गोल फर्काए ।

वेम्बली स्टेडियममा बार्सिलोनाले खेलको दोस्रो मिनेटमै कौटिन्होको गोलबाट सुरुवाती अग्रता बनाएको थियो । २८ औं मिनेटमा राकीटिचले गोल गर्दै पहिलो हाफमा बार्सिलोनालाई २ – ० को अग्रता दिलाए ।

दोस्रो हाफमा टोटेनहम खेलमा फर्कने प्रयास गर्यो । ५२ औं मिनेटमा ह्यारी केनले गोल गर्दै खेल २ – १ मा ल्याए । तर,खेलको ५६ औं मिनेटमा मेस्सीले गोल गर्दै खेल ३ – १ को बनाए । ६६ औं मिनेटमा टोटेनहमका लामेलाले गोल गर्दा खेल २ – ३ को स्थितिमा पुग्यो ।

त्यसपछि खेलको ९० औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ४ – २ को जित दिलाए । मेस्सीले च्याम्पियन्स लिगमा लगातार दोस्रो खेलमा गोल गरेका हुन् । मेस्सीले पहिलो खेलमा पिएसभीमाथी ह्याट्रिक गरेका थिए । मेस्सीले दुई खेलमा पाँच गोल गरिसकेका छन् ।

जितसंगै समूह ‘बि’ को बार्सिलोनाले २ खेलबाट ६ अंक जोडेको छ । बार्सिलोना शीर्ष स्थानमा छ । लगातार दुई खेलमा हार बेहोरेको टोटनहम अंकबिहिन रहेका छन् ।

यस समूहमा इटालियन क्लब इन्टर मिलान दोस्रो स्थानमा छ । बुधबार राति पिएसभी आइनहोभनलाई २ – १ ले हराएको इन्टरको पनि ६ अंक छ । पिएसभी अंकबिहिन रहदै पुछारमा छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.