काठमाडौं, तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्ने घोषणाअनूरुप सहमति भएको आज एक वर्ष पुगेको छ । तीन दलका शीर्ष नेताहरु केपीशर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र बाबुराम भट्टरार्इबीच पार्टी एकता गर्न २०७४ साल असोज १७ गते ६ बुँदामा हस्ताक्षर गरेका थिए ।
संघ र प्रदेशको चुनाव अघि नै बाबुराम भट्टरार्इ छुट्टिए। लामो रस्साकस्सी र दबाबपश्चात आठ महिनापछि एमाले र माओवादीबीच एकता भयो र नाम नेकपा राखियो। केन्द्रमा एकता त भयो तर जिल्ला प्रदेश र भातृसंगठनहरुको एकता अझै अन्योलमा छ।
जिल्ला र प्रदेशस्तरको एकतामा असन्तुष्टी जनाउँदै माधव नेपाल पक्षले चर्को विरोध गरिरहेका छन्। प्रचण्ड मौन छन् भने केपी ओली पेलेरै जाने रणनितीमा देखिन्छ। यसरी हेर्दा एकता अझै अन्योलमा देखिन्छ। पार्टीको मेरुदण्ड मानिने विद्यार्थी संगठनहरुको एकतामा त्यस्तै अन्योलता र जटिलताहरु छन्।
एकतापछि बनेको मुलुकको सबैभन्दा ठूलो पार्टीको राजनीतिक दस्तावेज पनि अहिलेसम्म बनेकै छैन। पार्टी एकतापछि मुल राजनीतिक दस्तावेज तयार गर्ने जिम्मेवारी सचिवालयले पाएको थियो । सचिवालयमा दुई अध्यक्षसहित नौ जना शीर्ष नेता छन् ।
‘राजनीतिक दस्तावेज बनाउनुपर्ने नेताहरु नै गुनासो र आरोप प्रत्यारोपमा उत्रेका छन् अनि कसरी बन्छ दस्तावेज’ एक स्थायी समिति सदस्यले भने, ‘सायद चाँडै तयार होला ।’
सचिवालयले हालसम्म उक्त दस्तावेज बनाएर कार्यकर्तामाझ नपठाउदा धेरै नेता कार्यकर्ता अन्यौलमा परेका छन् ।
उनीहरुले लामोसमयसम्म पनि नेकपाका नेता कार्यकर्ताले आफ्नो पार्टीकोे मुल राजनीतिक दस्तावेज पढ्न नपाउनु विडम्बना र दुर्भाग्य भएको गुनासो पनि गरेका छन् ।
‘अहिलेसम्म आफ्नो पार्टीको राजनीतिक दस्तावेज कस्तो छ भनेर देख्न र पढ्न पाएको छैन’ एक केन्द्रीय सदस्यले भने, ‘पार्टीको दस्तावेज अहिलेसम्म नबन्नु दुर्भाग्य हो, त्यहि दस्तावेजका आधारमा पार्टीका गतिविधि सञ्चालन गर्नुपर्नेमा त्यसो हुन सकेको छैन । यसमा नेतृत्वको ध्यान गएको पाइदैन जुन विडमबना हो ।’
विचार, नीतिद्धारा र कार्यक्रमबाट निर्देशित हुने भनिएको पार्टीमा एक बर्षसम्म राजनीतिक दस्तावेज नै नहुनुले पनि नेतृत्वप्रति प्रश्न गर्न थलिएको छ । पार्टीका जिम्मेवार नेताहरु केवल उद्घाटन गर्ने, रिवन काट्ने, अध्यक्षहरुको अघिपछि कुद्ने, मन्त्रालयमा गएर थुप्रने, सरुवा बढुवा मिलाउने, ठेक्कापट्टा मिलाउने काममा मात्रै केन्द्रित हुने गरेको समेत गुनासो बढ्न थालेको छ ।
‘द्धान्तिक वैचारिक काम शून्य अवस्थामा पुगेको छ । एक बर्षमा एउटा पनि प्रशिक्षण आयोजना भएका छैनन्, केन्द्रीय कमिटीलाई एकै ठाउ राखेर यो कार्यदिशा हो भनेर केन्द्रीय कमिटीको बैठक समेत बसेको छैन्। नेताहरु विदेश भ्रमणमा व्यस्त छन्। पार्टीको काम तथा एकिकरणको अभियानमा जुट्ने समय कसैलार्इ छैन। पार्टी प्रवक्ताबाट राजिनामा दिएका नारायणकाजी श्रेष्ठको कुनै सुनुवाइ नभएको भन्दै गुनासो गर्दै हिडेका छन् भने योगेश भट्टरार्इले पार्टीमा आफूलार्इ बोल्नेसमेत स्पेस नदिएकोले लोकतान्त्रिक संस्कार पतन भएको टिप्पणी गर्न थालेका छन्।