गुल्मेली ‘सरकार’ कसरी बने अमेरिकामा प्रशिक्षक ?

| 2018 Oct 03 | 12:32 pm 21936

– महेन्द्र पाण्डेय

प्रायः हरेक अभिभावकको चाहना र चिन्ता आफ्नो सन्तान डाक्टर, इन्जिनियर, पाइलट, उद्योगपति या यस्तै प्रकारका समाजमा प्रतिष्ठा हासिल हुने पेशामा लागुन् भन्ने हुन्छ । हाम्रो जस्तो सामाजिक परिवेशमा यस्तो इच्छा राख्नु स्वभाविक पनि हो । अभिभावकको तीव्र दबाब एकतिर अनि सन्तानको क्षमता वा रुचि अर्कैतिर भइदिँदा कैयौँ सन्तान आफ्नो क्षमतालाई प्रष्फुटन गर्न नपाएर गलत दिशातर्फ लागेको प्रशस्तै देख्न र सुन्न पाइन्छ । उदाहरणका लागि भनौँ, अभिभावकले संगीतकार बनाउने सोच राख्दा सन्तान इन्जिनियर बन्ने क्षमता रहेको बताउँछ तर अभिभावकको दबाब र तनावले गर्दा अन्ततः त्यो बच्चा दुबै कुरामा असफल भई बिग्रन पुग्छ ।

तर, गुल्मी जिल्लाको सदरमुकाम तमघासमा जन्मिएका राजश्वी प्रताप सेन (सरकार) भने अपवादका पात्र बनेर उदाएका छन् । उनले अभिभावकको चाहना र आफ्नो क्षमता दुबैलाई सफलताका साथ पूरा गरेर अभिभावकलाई मात्र नभई सबैलाई चकित पारेका छन् ।

नेपाली कांग्रेसका नेता त्रैलोक्यप्रताप सेन तथा समाजसेवी गोमा सेनका सुपुत्र ‘सरकार’ले आमाबाबुको मेकानिकल इन्जिनियर बनाउने चाहना र आफू फुटबलप्रेमी हुन देखेको सपना प्रशंसनीय ढङ्गले साकार पारेका छन् ।

हाल अमेरिकाको ओहायो राज्यमा रहेको होण्डा मोटर्स मेनुफेक्चरिङमा मेकानिकल इन्जिनियरका रुपमा कार्यरत सरकार त्यही शहरको एउटा बस्तीका कलिला बालकलाई फुटबल प्रशिक्षण दिने गर्छन् । फुटबल भनेपछि हुरुक्कै हुने सरकार फुटबल प्रशिक्षक बन्दासम्मको सङ्घर्ष र कथा चाखलाग्दो पनि छ ।

गुल्मीमा काँचो उमेरमा आफ्नै आमाले सञ्चालन गरेको स्टेशनरी पसलबाट फुटबल लिएर महेन्द्र माध्यमिक विद्यालयको प्राङ्गणमा रहेको मैदानमा पहिलो किक हान्दै अध्ययनको सिलसिलामा काठमाडौं पुग्दा उनी फुटबलप्रेमी मात्रै बनेनन् कि अहिले अमेरिकाको ओहायो राज्यको सुन्दर बस्ती ट्रोय (Troy) का चौध वर्षसम्मका बच्चाहरूलाई स्वयम्सेवकको रूपमा फुटबलको प्रशिक्षण दिने गरेका छन् । उनी अहिले त्यो सुन्दर बस्तीका सबै अमेरिकी अभिभावकका प्रिय पात्रसमेत बनेका छन् भने फुटबल खेल्न रुचाउने बच्चाका आदरणीय गुरु ।

गुल्मी जिल्लामा तीन कक्षा उत्तीर्ण गरेर काठमाडौंको बुढानिलकण्ठ स्कुलमा दश कक्षाको अध्ययनपछि अमेरिका पुगेका राजश्वी ‘सरकार’ कसरी फुटबल प्रशिक्षक बने भन्ने विषयमा जिज्ञासा उठ्नु स्वभाविक हो । तमघासमा जानी–नजानी फुटबल खेल्ने उनी काठमाडौं आएपछि पुस्तकलाई भन्दा बढी फुटबललाई माया गर्ने गरेको उनका सहपाठी सुनाउँछन् ।

दश कक्षासम्म पढ्दा सरकारको सिरानीमा पुस्तक नभएर फुटबल हुने गरेको पनि उनका सहपाठीहरू रोचकताका साथ सुनाउँछन् । फुटबलप्रति ज्यादै प्रेम गर्ने सरकार कक्षा १२ मा न्यूयोर्कमा अध्ययन गर्दा त्यहाँको जुनियर क्लबबाट खेल्ने खेलाडीका रूपमा परिचित भइसकेका थिए । दुर्भाग्य भनौँ, एकपटक क्लबबाट खेल खेल्ने क्रममा उनले बल हान्दै गर्दा झुक्किएर उनको तिघ्राले किपरको टाउकोमा लाग्न पुग्यो । किपरको टाउकोमा ठोक्किएपछि उनको तिघ्रा दोब्रियो र भाँचिन पुग्यो ।

त्यसरी भाँचिएको खुट्टामा अप्रेसन गरेर फलामको रड हालेपछि खुट्टा त ठिक भयो तर त्यसपछि उनी फुटबल खेल्न नसक्ने अवस्थामा पुगे । खेलप्रतिको मोह र प्यासलाई सरकारले यतिखेर त्यहाँका बालबालिकालाई फुटबल प्रशिक्षण दिएर मेटाइरहेका छन् । आफू खेल्न नसक्ने भए पनि आफूले प्रशिक्षण दिएर बच्चैदेखि फुटबल खेलाडी उत्पादन गर्ने उनको सपना भने पूरा भएको छ । सरकारले प्रशिक्षण दिने क्लबले अमेरिकाका विभिन्न ठाँउमा हुने खेलहरूमा विजय हासिल गरेका छन् । राजश्वी सरकारद्वारा प्रशिक्षित खेलाडी भोलिका दिनमा संसारमा नाम कमाउने खेलाडी बनुन्, रिपोर्ट नेपालको शुभकामना ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.