गुल्मी, असोज १६ : वर्तमान सरकारको गतिविधिलाई औल्याउँदै नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले नेपालका राजनीति गर्ने नेताहरुले कुर्सीको मोहमा मात्र सिमित भएकाले देशको विकास हुन नसकेको बताएका छन् ।
गुल्मीको कालिगण्डकी गाउँपालिका वडा नम्बर ७ भुर्तुङमा शैक्षिक स्तरोन्ती तथा प्राविधिक शिक्षा संचालनका लागि दुर्गा भवन माध्यमिक विद्यालयले आयोजना गरेको श्रीमद् भागवत् ज्ञान महायज्ञमा नेता भण्डारीले नेपालका राजनीति गर्ने नेताहरुले व्यक्तिगत स्वार्थमा मात्रै लागेका र सिहंदरबारमा रहेको कुर्सीलाई मात्र देखेकाले देशको विकास हुन नसकेको बताएका छन् ।
नेपाली जनताको इच्छा आकांक्षा विपरित उनीहरुको मर्मलाई ख्याल नराखी पद र पैसाका निम्ति मात्रै जबसम्म लाग्छौ तबसम्म देश विकास हुन नसक्ने ठोकुवा गरे ।
अहिले सरकारको हातमा दुई तिहाई जनमत हुदा पनि आन्तरिक किचलो उत्पन्न भएकाले यसलाई आन्तरिक रुपमा नै समाधान गर्न भण्डारीले सुझाब दिए । नेपालका प्रत्येक आन्तरिक मामिलाहरु नेपालमानै समाधान गर्नु पर्ने भएकाले बिदेशीहरुलाई गुहार्ने प्रचलनको अन्त्य गर्नुपर्ने बताए ।
यदि नेपालका सबै मामिलाहरुमा बिदेशी चलखेल हुने हो भने अहिलेसम्मका उपलब्धीहरु गुम्न सक्ने भएकाले वर्तमान सरकारले त्यसमा ख्याल गर्न आग्रह गरे । नेकपा भित्रको आन्तरिक किचलोले गर्दा हालसम्म भएका उपलब्धीहरु गुमाई सत्ता नेपाली काँग्रेसको हातमा मात्रै नभई अन्यन्त्र पनि जान सक्ने संभावना रहेको उल्लेख गरे ।
नेपाली राजनीतिमा देश बनाउने र युवाहरुलाई स्वदेशमा नै स्वरोजगार बनाउने प्रतिबद्धता नभएकै कारण युवाहरु अरबमा श्रम बेच्न बाध्य भएको दाबी गरे । भण्डारीले देशलाई अग्रगामी परिवर्तन गर्न र युवाहरुलाई स्वरोजगार बनाउनका निम्ति नेपाली राजनीतिमा प्रतिबद्धता र अठोट नभएकै कारण समस्या भएको दाबी गरे ।