दशैंको मुखमा नागढुङ्गा–पिपलामोड सडकखण्डकाे सवारी आवागमनमा राेक

| 2018 Oct 02 | 04:39 pm 2332

काठमाडौं, १६ असोज :  त्रिभुवन राजपथ अन्तर्गत नागढुङ्गा–पिपलामोड सडकखण्डमा सवारीसाधन आवागमन रोकिने भएको छ । चाडबाडको समयमा सडक मर्मत तथा सुधार गर्नुपर्ने भएकाले डिभिजन सडक कार्यालय काठमाडौँले बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्मका लागि सवारीसाधन आवागमनमा रोक लगाएको हो ।

कार्यालयले महानगरीय ट्राफिक प्रहरी महाशाखालाई पत्राचार गर्दै असोज १५ देखि २२ गतेसम्म रातिको समयमा सवारी व्यवस्थापन गर्न आग्रह गरेको थियो । सोही अनुसार गएरातिदेखि यस खण्डमा रातको समयमा सवारी आवागमन बन्द भएको छ । सडक मर्मत कार्य जारी रहेकाले रातिको समयमा अत्यावश्यक बाहेकका सवारी साधनलाई आवतजावत गर्न नदिइएको महानगरीय प्रहरी प्रभाग नागढुंगाका प्रमुख प्रहरी निरीक्षक केशव भट्टले जानकारी दिए । ‘एम्बुलेन्ससहित अत्यावश्यक बाहेकका सवारी साधनलाई रातिको समयमा आवतजावत गर्न दिइएको छैन,’ प्रहरी निरीक्षक भट्टले भने, ‘सडक पिच भइसकेपछि समस्या हल हुन्छ ।’

दशैंको मुखमा सवारी आवागमन बन्द गरेर सडक मर्मत गरिँदा त्यसको प्रभाव दिउँसोमा पनि देखिएको छ । गएराति सडक बन्द भएकाले आज बिहानैदेखि यस क्षेत्रमा लामो जाम छ । रातिको समयमा जाम धादिङतर्फ सीम्लेभन्दा परसम्म पुगेको थियो । काठमाडौंतर्फ पनि कलंकीसम्म यसको प्रभाव थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.