नियमित पढाइको माग गर्दा २२ विद्यार्थी निष्कासित

रिपोर्ट नेपाल | 2018 Oct 02 | 07:53 am 3514

म्याग्दी, असोज १६: नियमित रूपमा पढाइ हुनुपर्ने माग गर्दा रघुगंगा गाउँपालिका–७ चिमखोलास्थित अमर माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत २२ विद्यार्थी निष्कासनमा परेका छन्। विषयअनुसारका शिक्षकको व्यवस्था गरी नियमित पठनपाठन गराउन माग गरेका विद्यार्थीलाई विद्यालय व्यवस्थापन समितिको आइतबार बण्सेको बैठकले एक महिनाका लागि निष्कासन गरेको हो।

विद्यालयले निष्कासन गरेपछि विद्यार्थी अध्ययनबाट वञ्चित भएका छन्। विद्यालयमा लामो समयदेखि विज्ञान र कम्प्युटर विषयका शिक्षक नहुँदा नियमित पठनपाठन नै प्रभावित भएपछि १० असोजमा तालाबन्दी गरेका थिए। विद्यालयमा अमर्यादित व्यवहार प्रदर्शन गरेको भन्दै कक्षा १० मा अध्ययनरत २५ जनामध्ये २२ जनालाई एक महिनासम्मका लागि निष्कासन गर्ने निर्णय भएको विद्यालयका प्रधानाध्यापक पृथबहादुर थापाले बताए।

एसइईको तयारीमा समस्या

माध्यमिक शिक्षा परीक्षा (एसइई), कक्षा १० को तयारी गरिरहेका विद्यार्थी निष्कासित भएपछि समस्या भएको छ। एसइई परीक्षाको तयारीमा जुटेका विद्यार्थीको पढाइ अन्योल भएको विद्यार्थीको गुनासो छ। कक्षा १० मा अध्ययनरत सम्झना थापाले भनिन्, ‘मौखिक रूपमा पटक–पटक नियमित पठनपाठन गराउन माग ग-यौँ, तर कहिल्यै सुनुवाइ भएन, हामीले गाउँ भेलामार्फत छलफल गरेर समस्या निकाल्न अनुरोध गर्दा हेडसर बिदा लिएर पोखरातिर जानुभयो, बाध्य भएर हामीले आन्दोलन गर्नुपरेको हो।’

उनका अनुसार, शैक्षिक सत्र सुरु भएको पाँच महिना बित्दा विज्ञान विषय र कम्प्युटर विषयको एक–एक पाठको मात्रै पढाइ भएको छ । विद्यालयले निष्कासन गरेपछि गाउँ छाडेर अन्यत्र गएर पढ्ने वा अध्ययन नै नगर्ने द्विविधामा रहेको विद्यार्थीले गुनासो गरेको खबर नयाँ पत्रिका दैनिकमा छ।

अमर माविमा गत जेठदेखि नै विज्ञान शिक्षक नहुँदा पढाइ भएको छैन। कम्प्युटर विषयका तत्कालीन शिक्षक रिम पाइजाले विद्यालय व्यवस्थापन समितिले तलब घटाएपछि असारदेखि अध्यापन गराउन छाडेका थिए। मासिक १५ हजार रुपैयाँमा शिक्षण गर्दै आएका पाइजालाई विद्यालयले १० हजारमा अध्यापन गराउन भनेपछि उनले पढाउन छाडेका थिए। सो विषयमा विद्यालयले विज्ञापनमार्फत नयाँ शिक्षक नियुक्त गरे पनि उनले समेत बीचैमा छाडेपछि पठनपाठन भएको छैन।

दुई विषयको पठनपाठन लामो समयदेखि अवरुद्ध भइरहेको समयमा १० असोजमा थप दुई शिक्षक शिक्षक आयोगको परीक्षा दिन गए। सोही समयमा प्रधानाध्यापक पृथबहादुर थापासमेत पोखरा गए। निमित्त प्रअसमेत गाउँपालिकामा खाता खोल्ने कामले गएपछि विद्यालय शिक्षकविहीन भएको थियो। विद्यार्थीले आफूहरूको नियमित पठनपाठन गराउन दबाब दिन विद्यालयमा तालाबन्दी गरेका थिए।

प्रअले भने विद्यालयमा कामविशेषले शिक्षकहरू नभएको अवस्थामा तालाबन्दी गरेको र अमर्यादित शब्दहरू प्रयोग गरेको, अभद्र व्यवहार र अराजकता मच्चाएकाले कारबाही गरेको दाबी गरे।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.