काठमाडौँ, असाेज १५ : धितोपत्र बजारमा लगातार दोहोरो अंकले ओरालो लगेपछि सेयर बजारका लगानीकर्ता चिन्तित भएका छन् । आइतबार दोहोरो अंकले ओरालो लागेको सेयर सोमबार पनि दोहोरो अंकले नै ओरालो लागेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार बजार १८.०४ बिन्दुले घटेर एक हजार २३८.६७ पुगेको छ । ‘क’ वर्गका कम्पनीको सेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ४.२९ बिन्दुले घटेर २६२.८० बिन्दुमा पुगेको छ ।
कारोबार रकममा समेत आज गिरावट आएको स्टकले जनाएको छ । कूल १६५ कम्पनीको १७ लाख ६१ हजार ८१७ कित्ता सेयर रु ५३ करोड ९६ लाख तीन हजार ९३५ मूल्यमा खरीद बिक्री भएको हो ।
उत्पादन उपसमूहको सेयर मूल्यमा वृद्धि भएपनि अन्य सेयर मूल्य भने ओरालो लागेको छ । उत्पादन समूह २६.८ बिन्दुले बढ्दा आज व्यापार समूहको भने कुनै पनि सेयर कारोबार भएन ।
बैङ्किङ १९.८५, होटल १८.२६, विकास बैङ्क २९.७३, जलविद्युत् ८.९१, वित्त १.५९, निर्जीवन बीमा ७१.७३, अन्य ६.४, माइक्रोफाइनान्स १८.७२ र जीवन बीमा ७८.५६ बिन्दुले घटेको छ ।