काठमाडौं : कञ्चनपुर भीमदत्तनगरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएकी अनुसन्धान अझै अनुत्तरित भएको छ। हत्या गरिएको ६७ दिन बितिसक्यो। राज्यको सबै संयन्त्र लाग्दा पनि उनको बलात्कार र हत्या कस्ले गर्यो भन्ने मुख्य प्रश्न अनुत्तरित छ ।
गृह मन्त्रालयले सहसचिवको नेतृत्वमा छानबिन समिति नै गठन गर्यो । प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)बाट छुट्टै टोली पठायो । प्रहरी वरिष्ठ उपरीक्षक ठाकुर ज्ञवालीको टोली अहिले पनि कञ्चनपुरमा छानबिनमै छ । तर निर्मलाको बलात्कारपछि कस्ले हत्या गर्यो भन्ने सानो सुराक समेत सार्वजनिक गर्न प्रहरीले सकेको छैन ।
गृह प्रशासन र प्रहरीको सम्पूर्ण शक्ति परिचालन हुँदा पनि निर्मला हत्याका अभियुक्त पक्राउ नपर्दा सरकारको चौतर्फी आलोचना भइरहेको छ। आरोपी र शंका गरिएका प्रमुख एसपी डिल्लिराज विष्ट, उनका छोरा र मेयरका भतिजाको डीएनए परीक्षण गरियो र तर नतिजा नेगेटिभ आयो ।
सबैको प्रश्न एउटै छ, अनुसन्धान अब कता ? प्रहरी आरोपी छ। प्रहरीकै विधिविज्ञान प्रयोगशालामा डीएनए परीक्षण गरिँदा त्यसको वैधानिकतामाथि समेत प्रश्न उठेको छ। घटनास्थलमा प्रमाण सुरक्षित राख्न नसक्नु भनेकै गम्भीर लापरबाही हो। जानकारी हुनेबित्तिकै घटनास्थलमा प्रहरी नपुग्नु, निर्मलाका अभिभावकको चिन्तालाई सामान्य सोचेर एसपी विष्टले प्रहरी परिचालनमा रोक लगाउनु, घटनास्थलमा निर्मलाले लगाएको सुरुवाल धोइपखाल्न लगाउनु, निर्मलाका कपडा शवसँगै जलाउन दिनुले अनुसन्धानको सामान्य सिद्धान्तलाई प्रहरीले नियोजित रूपमै लापरबाही गरेको प्रष्ट्याउँछ ।
गृहमन्त्री रामबहादुर थापा भन्छन्, प्रमाण लुकाउन प्रहरी नै संलग्न भयो । अनि प्रहरी आरोपीको डीएनए परीक्षण आफ्नै प्रयोगशालामा गर्छ । यसले आशंका थप बढाएको छ।कानुनी भाषामा भनिन्छ, लास पनि बोल्छ । अर्थात् शवमा प्रमाणहरू लुकेका हुन्छन् । तर, प्रमाणहरू प्रहरी संरक्षणमा सुरूदेखि नै एकपछि अर्को गर्दै नष्ट गरिएका छन् । पछिल्लो डीएनए परीक्षण पनि राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा गरिएन, प्रहरीकै विधि विज्ञान प्रयोगशालामा गरियो । निलम्बित एसपी डिल्लीराज विष्ट, उनका छोरा किरण विष्ट र अर्का स्थानीय आयुष विष्टको डीएनए नतिजा भने नेगेटिभ आएको छ ।
कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख विष्ट र घटनास्थलमा खटिएका अन्य प्रहरीको लापरबाहीले गम्भीर आशंका उब्जिएको हो । यी प्रश्नका जवाफ अहिलेसम्म प्रहरी प्रधान कार्यालय र गृहले दिन सकेको छैन।
गृहका सहसचिव हरिप्रसाद मैनाली संयोजकत्वको छानविन समितिले मुख्य अभियुक्त नठहर्याई प्रतिवेदन बुझायो। गृहमन्त्रीले छानविन निष्कर्षमै नपुगी हतारमा प्रतिवेदन बुझे । उनले घटनामा प्रहरी चुकेको र गम्भीर लापरबाही गरेको बताउँदै आएका छन् ।
प्रहरीले कसको निर्देशनमा घटनालाई सामान्य रूपमा लियो ? गृहले मैनाली प्रतिवेदन गोप्य राखेको छ । पीडित परिवारले प्रतिवेदन सार्वजनिक गर्न माग गर्दा पनि सार्वजनिक गरिएको छैन ।
छानबिन समिति सदस्य वीरेन्द्र केसीले बीचमै समितिमा नबस्ने भन्दै राजीनामा घोषणा गरे । पछि समितिमै फर्किए । उनले भनेका थिए, ‘मलाई मोटरसाइकलमा आएका केटाहरूले ज्यान लिने धम्की दिए । मलाई गाह्रो छ ।’ प्रहरीले केसीलाई धम्क्याउने व्यक्ति अझै पत्ता लगाउन सकेको छैन । किन केसीलाई छानविन नगर्न दबाब दिइयो भन्ने कुरा अझै गौण छ ।
आइतबार मात्रै केसी चढेको गाडीमा आक्रमण भयो। त्यो आक्रमण कसले गर्यो ? प्रहरीले आक्रमणकारीलाई पक्राउ गर्न किन तदारुकता देखाएन ? निर्मलाको हत्या प्रकरणको अनुसन्धानमा खटिएका अधिकारीमाथि आक्रमण गर्नेको खोजी गर्न फेरि छानविन समिति गठन गर्नुपर्ने होला।
निर्मलाको शव जलिसकेको छ । जहाँ शव फेला परेको थियो, त्यो ठाउँ पहिलेजस्तो छैन । निर्मलाकी साथीको घरमा रंग पोतिएको छ । नयाँ शिराबाट अनुसन्धान गर्दा प्रमाणित वस्तु सुरक्षित छैन। कञ्चनपुरमा अझै आन्दोलन रोकिएको छैन । निर्मलाका बाबुआमा ‘छोरीको हत्यारा खोई ? ’ भन्दै सरकारमाथि प्रश्न तेर्साइहेका छन्। सरकारसँग न्यायको भिख माग्दै कञ्चनपुरबाट काठमाडौं पुगे र गृहमन्त्रीदेखी प्रधानमन्त्रीसम्मलार्इ भेटे तर, न्याय पाउनेमा उनी अझै विश्वस्त हुन सकेनन्।
प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल कञ्चनपुरमै पुगेर नालायक नेतृत्वका कारण निर्मला हत्याका अभियुक्त पक्राउ पर्न नसकेको भाषण गरे । तर प्रहरीको मुख्य नेतृत्वले गर्नुपर्ने सुपरीवेक्षणमा स्वयं उनी चुके । एसपी विष्ट विवादित व्यक्ति हुन् भन्ने पूर्व जानकार रहेको प्रहरी मुख्यालयले जिल्लाको इन्चार्च किन बनायो ? भीडले आक्रोश पोखेपछि मात्रै विष्टलाई र अन्य प्रहरी अधिकृतलाई किन निलम्बित गरियो ? यो कार्य प्रहरी मुख्यालयले पहिल्यै गर्न सक्थ्यो ।
६७ दिन पार गरिसक्दा पनि घटनाको दोषी फेला नपर्दा अब अनुसन्धान कता मोडिन्छ भन्ने प्रश्न खडा भएको छ । अनुसन्धाका लागि प्रहरीको पाँच टोली खटिएका छन्। भिड जम्मा गरेर क्तो अनुसन्धान गर्न खोजेको हो सरकारले ? भीडले जस्लाई भन्यो, उसलाई निलम्बन, छानबिन र डीएनए परीक्षण गर्ने काम उक्त अनुसन्धानको भिडले गर्ने गरेको छ। अनुसन्धानमा खटिएका टोली नै त्रासमा छ।
राम्रो नियतले अनुसन्धान गर्दा निलम्बनमा परिने डर पहिल्यै पैदा गरियो भने त्यसले राम्रो रिजल्ट कसरी आउन सक्छ।
संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्क पुगेका प्रधानमन्त्री ओलीले निर्मला पन्तको हत्या प्रकरणमा संलग्नलाई दुई महिनासम्म पक्राउ गर्न नसकेपछि चौतर्फी आलोचना खेपेका प्रधानमन्त्री केपी ओलीले दोषी पत्ता लगाउन १२ वर्ष पनि लाग्न सक्ने प्रतिक्रिया दिन्छन्।
अनि गृहमन्त्री रामबहादुर थापाले निर्मला पन्त हत्या सम्बन्धी गठित उच्चस्तरीय छानबिन समितिले सरकारलाई प्रतिवेदन बुझाइसकेकाले घटनामा संलग्न दोषी चाँडै कारवाहीको प्रक्रियामा ल्याइने बताएका छन् ।
यसरी न्याय दिन ढिलो गर्नु नै अन्याय हो भनिन्छ। यस्तै प्रकृतिको घटना भएको पोखरामा घटना भएको दोस्रो दिन नै दोषी पत्ता लगाइयो।
तर, यस घटनामा प्रधानमन्त्री नै एक टेलिभिजन कार्यक्रममार्फत सफेद झुट बोल्छन। प्रहरी नै अनुसन्धानको घेरामा हुँदा पनि उनीहरुकै संरक्षणमा अनुसन्धान अघि बढाइन्छ। मानसिक सन्तुलन बिग्रेका व्यक्तिलार्इ थुनामा राखेर यातना दिने र दोष कबुल गराउन लगाइयो।
यसरी हेर्दा माथिबाटै च्यानल मिलाएर घटनाको ढाकोछोप गर्ने र जनताको छारो हाल्ने काम भइरहको छ। कञ्चनपुरमा विभिन्न तहमा नाटक मन्चन गरी न्यायमाथि नै बलात्कार गरिएको छ।
देशभरीबाट निर्मलालार्इ न्यायको माग गरिएको छ। आमाबुबाको चित्कारमा पनि सरकर नसुनेझैं गरिरहेको छ। के अब निर्मलाले न्याय नपाउनै हो त ?