काठमाडौं, असोज १४ : पल्सर सहिद स्मारक ए डिभिजन लिग फुटबलमा सिएमजी संकटाले सरस्वती युथ क्लबलाई पराजित गरेको छ । आईतबार सातदोबाटोस्थित एन्फाको एस्ट्रो टर्फमा भएको खेलमा संकटाले सरस्वतीलाई १–० गोल अन्तरले पराजित गरेको हो ।
झन्डै पाँच वर्षपछि ए डिभिजन लिग शनिबार सुरु भएको थियो । पहिलो दिन एनआरटी क्लब र त्रिभुवन आर्मी क्लबले २–२ को बराबरीमा टुंगिएको थियो । यद्दपी पहिलो दिनको खेल विवादरहित हुन सकेन । खेलको अन्त्यतिर रेफ्री सुदिश पाण्डेको निर्णय विवादित बनेको थियो ।
२–१ ले एनआरटी अघि रहेको अवस्थामा टोलीका गोलकिपर अजित प्रजापतिले बढी समय बल होल्ड गरेको भन्दै रेफ्री पाण्डेले त्यसमा आर्मीलाई पेनाल्टी बक्सबाट इनडाइरेक्ट फ्रिकिकको अवसर दिए । त्यसमा आर्मीले गोल गरेपछि खेल बराबरीमा टुंगिएको थियो ।
त्यो विषयमा एनआरटीका पदाधिकारी नै विवादमा उत्रेका थिए । उनीहरुमध्ये केहीले म्यान अफ दी म्याच घोषित गोलकिपर अजितलाई ट्रफी लिनबाट रोकेका थिए । तर, पनि उनले ट्रफी लिए । पाण्डेको निर्णय छानविनका लागि एनआरटीले एन्फामा निवेदन दर्ता गरेको बताइएको छ ।
नेपाली राष्ट्रिय टोली बंगबन्धु गोल्ड कपका लागि आइतबार बंगलादेश प्रस्थान गरेकोले ए डिभिजन लिग केहि दिनका लागि स्थगित हुने एन्फाले यसअघि नै जनाइसकेको छ ।