जनसङ्ख्याभन्दा एक करोड बढी दूरसञ्‍चार प्रयोगकर्ता

रिपोर्ट नेपाल | 2018 Sep 30 | 08:32 am 3582

काठमाडौं, असोज १४: नेपालको कुल जनसङ्ख्याभन्दा दूरसञ्चार सेवाको प्रयोग गर्नेको सङ्ख्या एक करोड बढी रहेको पाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको गत असारसम्मको प्रतिवेदन अनुसार देशभर मोबाइल र फिक्स्ड लाइन गरी तीन करोड ९२ लाख दूरसञ्चारका प्रयोगकर्ता छन् ।

प्राधिकरणले केन्द्रीय तथ्याङ्क विभागले उपलब्ध गराएको जनसङ्ख्याको आधारमा दूरसञ्चारको पहुँचको तथ्याङ्क सार्वजनिक गर्छ । प्रतिवेदनमा विभागले उपलब्ध गराएको दुई करोड ९२ लाख ९१ हजारलाई नेपालको कुल जनसङ्ख्या आधार मानिएको छ ।

दूरसञ्चार प्रयोगकर्ताको सङ्ख्या तीव्र रूपमा बढी रहेको पनि प्रतिवेदनमा उल्लेख छ । गत आर्थिक वर्षको सुरुवाती महिनामा तीन करोड ६२ लाख दूरसञ्चार प्रयोगकर्ता रहेकोमा अन्तिम महिना असारसम्म ३० लाखले बढेको छ ।

पछिल्लो तथ्याङ्क अनुसार तारको प्रयोग हुने फिक्स्ड लाइनका प्रयोगकर्ता आठ लाख ६१ हजार छन् । मोबाइलको पहुँच भने अत्यधिक छ । देशभर तीन करोड ८३ लाख ४० हजार मोबाइल प्रयोगकर्ता छन् । दूरसञ्चार सेवा प्रदायकले वितरण गरेको सिमकार्डका आधारमा मोबाइल पहुँचको तथ्याङ्क निकालिन्छ ।

प्राधिकरणका अनुसार यसरी वितरण गरिएका सिमकार्डमध्ये सबै प्रयोग भने भएका हुँदैनन् । प्राधिकरणले पछिल्लो पटक करिब एक करोड बराबरका सिमकार्ड निस्क्रिय रहेको जनाएको थियो । सङ्ख्यात्मक हिसाबले सरकारी लगानीको नेपाल टेलिकमको सेवा प्रयोगकर्ता सबैभन्दा धेरै छन् । टेलिकमका ल्यान्डलाइन, भिस्याटजस्ता फिक्स्ड लाइन प्रयोगकर्ता आठ लाख आठ हजार पुगेका छन् । त्यस्तै जीएसएम र सीडीएम गरी एक करोड ९१ लाखसहित कुल दूरसञ्चार प्रयोगकर्ता दुई करोड नजिक पुगेको छ । गत आर्थिक वर्ष मात्रै टेलिकमका २२ लाख प्रयोगकर्ता बढेका छन् ।

पहुँचका हिसाबले दोस्रो स्थानमा रहेको एनसेलका एक करोड ६५ लाख प्रयोगकर्ता छन् । एनसेलले जीएसएम मोबाइल सेवा मात्रै उपलब्ध गराउँछ । गत आवमा एनसेलका छ लाखभन्दा बढी ग्राहक थपिएका छन् । स्मार्ट टेलिकम प्रयोग गर्नेको सङ्ख्या १८ लाख ५१ हजार पुगेको छ भने ग्रामीण क्षेत्रमा मात्रै दूरसञ्चार सेवा उपलब्ध गराउँदै नेपाल स्याटेलाइट (हेल्लो नेपाल)का प्रयोगकर्ता तीन लाख २८ हजार छन् ।

त्यस्तै युटीएलका प्रयोगकर्ता पाँच लाख २६ हजार रहेको प्रतिवेदनमा उल्लेख छ । यूटीएलले २०६९ सालमा एकीकृत दूरसञ्चार अनुमतिपत्र प्राप्त गरे पनि सो अनुसार अहिलेसम्म पनि सेवा सञ्चालनमा ल्याउन सकेको छैन । प्राधिकरणले उल्लेख गरेको उक्त तथ्याङ्कमा यूटीएलका सीडीएमए प्रयोगकर्ताको हो । यद्यपि उक्त सङ्ख्यामा निकै कम मात्र सक्रिय प्रयोगकर्ता छन् ।

कुल जनसङ्ख्याको आधाले इन्टरनेट प्रयोग गर्ने पाइएको छ । प्राधिकरणका अनुसार जनसङ्ख्याको ५१.१५ प्रतिशत इन्टरनेटको पहुँचमा छन् । यसमध्ये अधिकांशले मोबाइलबाट इन्टरनेट चलाउँछन् । एक करोड ५० लाख कुल इन्टरनेट प्रयोगकर्तामध्ये एक करोड १५ लाखले मोबाइलबाटै यसको प्रयोग गर्छन् । निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकले अप्टिकल तथा फिक्स्ड इन्टरनेट प्रयोगकर्ता २२ लाख २६ हजार पुगेका छन् । नेपाल टेलिकमको एडीएसएल प्रयोगकर्ता पनि दस लाख नाघेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.