सरकारलार्इ घेरा हालेर गिराउने खेल भइरहेको छ : गृहमन्त्री

| 2018 Sep 29 | 03:29 pm 1999

गुल्मी, असोज १३: गृहमन्त्री राम बहादुर थापा बादलले सरकारलार्इ चारैतिरबाट घेरा हालेर गिराउने खेल भइरहेको बताएका छन्।

विश्व मुटु दिवसको अवसरमा आयोजित बृहत निशुल्क स्वास्थ्य शिविरको उद्घाटनपछि मन्तव्‍य दिने क्रममा बोल्दै गृहमन्त्री रामबहादुर थापाले सरकार विभिन्‍न अपराधीहरुलार्इ नेस्तेज पार्ने अभियानमा लागेकोले सरकार गिराउने खेल भइरहेको बताएका हुन्।

अहिलेको सरकार समृद्धिको अभियानमा अघि बढेको धेरैलार्इ चित्त नबुझेकोले सरकार गिराउने खेलमा केही गिरोह सक्रिय भएको बताएका हुन्। उनले भने, ‘समृद्ध मुलुकका लागि सुशासन आवश्‍यक हुन्छ । सुशासनका लागि अपराधी र अपराधजन्य मनस्थितिलार्इ निस्तेज पार्न जरुरी छ। अहिले सरकार त्यस्ता बलात्कारी, ठगी , तस्करी तथा विभिन्‍न अपराध गर्ने व्यक्तिहरुलार्इ कानूनको कठघरामा ल्याउने अभियानमा छ। तिनै अपराधीहरु जुर्मुराएर सरकारलार्इ विभिन्‍न बाहनामा घेरा हाल्‍ने र गिराउने खेल खेलिरहेका छन्।’

उनले हरेक नेपाली नागरिक स्वतन्त्र र शान्तिपूर्व बाँच्‍न पाउँने अधिकारको रक्षाका लागि सरकार प्रतिबद्ध भएको समेत बताए।

महिलाको सुरक्षाका लागि महिलाहरु आफैं उठ्नु जरुरी भएको बताउँदै उनले भने, ‘महिलाविरुद्धको हिंसामा महिलाहरु आफैं उठ्न जरुरी छ। त्यसमा गृहमन्त्रालयको पूर्ण साथ छ। सरकारले ९५ प्रतिशत बलात्‍कारीलार्इ सरकारले कारबाही गरिसकेको छ। केहीलार्इ सरकारले खोजीरहेको छ। चाँडै कानूनको कठघरामा ल्याइनेछ।’

नेपाली दिदीबिहीनीहरु नेपालमा मात्र नभएर विभिन्‍न बाहना विदेशी पुर्‍याइएकी नेपाली दिदीबहिनीहरु विदेशमा समेत बलात्‍कारको सिकार हुने गरेको उल्लेख गर्दै गृहमन्त्री थापाले भने, ‘अहिले दैनिक दुर्इदेखि तीन जना दिदीबहिनीहरु विदेशमा बलात्‍कारपछि हत्या भएर नेपालको एयरपोर्टमा आउँछन्। सरकार मुलुकमा मात्र होइन मुलुक बाहिर हुने यस्ता जघन्य अपराध निर्मुलका लागि लागिरहेको छ। यसमा जनताको साथ आवश्यक छ।

गृहमन्त्री थापाले सरकारको नारा समृद्ध नेपाल, सुखी नेपालीका ठाउँमा स्वास्थ नेपाल पनि थप्‍न जरुरी रहेको औंल्याए। स्वास्थ्य नै सबैभन्दा ठुलो धन भएकोले स्वस्थ हुनसकेमात्रै समृद्धि र विकाससँगै सुख प्राप्त गर्न सकिने उनले बताए।

गुल्मी सदरमुकाम तमघासमा लायन्स क्लब अफ काठमाडौं लर्ड बुद्धले आयोजना गरेको दुर्इ दिने बृहत कार्यक्रममा सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनालले सेवा नै धर्म र स्वास्थ्य नै धन भन्‍ने मुल मन्त्रलाई क्लबले लागू गरेकोमा प्रशंसा गरेका थिए। उनले भने, ‘कुनै पनि काम गर्न लागि मानिस स्वस्थ हुन जरुरी भएको र स्वस्थ रहनका लागि मुटु स्वस्थ हुन जरुरी हुन्छ। त्यसकारण मुटु स्वस्थ राख्‍नका लागि दैनिक खानपान तथा व्यायममा ध्यान जरुरी छ।’

वरिष्ठ मुटु रोग विशेषज्ञ प्रकाशराज रेग्मीले मुटु रोग खानपानको कारणले लाग्ने हुँदा खानपानको जीवनशैली र आधा घण्टा व्यायमको आवश्‍यकता औंल्याए। डा रेग्मीले विपन्‍नको कोटामा सरकारले मुटु रोगीका लागि हल छिर्नेसम्म निशुल्क गर्दै आएको बताए। उनले भने, ‘त्यसको अलवा विपन्‍न वर्गलाई छुट्टै एक लाखसम्‍म सहयोग गर्दै आएको भएपनि विपन्नको कोटामा सम्पन्‍नशालीहरुले फाइदा लिएका छन्।’

क्लबका अध्यक्ष विष्णु प्रसाद भण्डारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल हृदय रोग निवारण प्रतिष्ठान गुल्मीका अध्यक्ष अखिलेश्वर पाण्डेले स्वागत मन्तव्य राखेका थिए।

शिविरबाट दुई हजार भन्दा बढीले स्वास्थ्य चेकजाँच गरेका थिए। वरिष्ठ मुटु रोग विशेषज्ञ प्रकाशराज रेग्मी वरिष्ठ फिजिसियन तथा ग्यास्ट्रोलोजिष्ट डा दिनेश पोख्रेल सहित तीस जना मेडिकल टिम र तीस जना प्राविधिक टिम गरी ६० जनाको साहेताले सेवा प्रदान गरेका थिए । मुटुको भिडियो इण्डोस्कोपी पेटको भिडियो एक्सरे, इसिजी र सामान्य रगतको ल्याब परिक्षण गरिएको थियो।

शिविर संचालन गर्नका लागि सह प्रायोजक सशस्त्र प्रहरी परिवार महिला संघ, नेपाल हृदय रोग प्रतिष्ठान गुल्मी, विशेष सहयोगी सक्षम डाइनोष्टिक प्रा लि पुतली सडक, भरोसा अस्पताल काठमाडौं, भिजन पोलिक्निक काठमाडौं र साइन रसुङ्गा डेभलपमेण्ट बैंक रहेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.