यी पाँच देश जसले तय गर्छ विश्वको संस्कृति

| 2018 Sep 28 | 02:59 pm 2179

काठमाडौं : विश्वव्यापी प्रभाव अक्सर सैन्य, राजनीतिक र आर्थिक सामथ्र्यमार्फत मापन गरिन्छ तर केही देशका लागि तिनको संस्कृति नै यस्तो सामथ्र्य हो जसले समस्त संसारमा बलियो प्रभाव पारेको हुन्छ । यी देशको खाना, फेसन र मनोरञ्जनले पूरा संसारमा आफ्नो अलग छाप छाडेको छ ।

यस्ता सांस्कृतिक रूपमा प्रभावशाली देशहरूको पहिचान गर्न हालै ‘यूएस न्युज एन्ड वल्र्ड रिपोर्ट’ले केही मापदण्डहरू तय गरेर त्यसका आधारमा तिनको वरियता तय गरेको छ । मापदण्डमा प्रतिष्ठा, फेसनेबल, ट्रेन्डी, खुसी, आधुनिक र मनोरञ्जन क्षेत्रको प्रभावजस्ता तत्वहरूलाई लिइएको थियो ।

यस आधारमा पहिचान भएका शीर्ष दस देशहरूमा धेरै युरोपका छन् । युरोपका इटाली, स्पेन, फ्रान्स र संयुक्त अधिराज्य शीर्ष दसमा परेका छन् । तर सूचीमा एसियाली देश जापान (आधुनिक र प्रतिष्ठामा उच्च भएकाले), अमेरिकी महादेशका ब्राजिल (खुसी र मनोरञ्जनमा उच्च भएकाले) र संयुक्त राज्य अमेरिका (आधुनिकता र संकृतिक रूपमा प्रभावमा उच्च भएकाले) पनि सामेल छन् ।

बीबीसी ट्राभलले यो सूचीको शीर्ष पाँच देशका केही बासिन्दाहरूसँग भेटेर कुराकानी ग¥यो । यी संवादको उद्देश्य तिनको देशले कसरी विश्वव्यापी प्रभाव पार्न सक्यो र अन्तर्राष्ट्रिय स्तरमा आफ्नो प्रभाव छाड्न सक्ने देशमा बस्दाको अनुभव सङ्ग्रह गर्नु थियो ।

१. इटाली

भ्यालेन्टिनो, अरमानी, भरसाचे र गुचीजस्ता डिजाइनर ब्रान्डका लागि प्रसिद्ध इटालीले फेसनेबल र ट्रेन्डी दुई शीर्षकमा १० मा १० नम्बर हासिल गर्याे ।

यस तथ्याङ्कले लुसियो बुफाल्मनो जस्ता इटालीमा बसिरहेकालाई त्यति आश्चर्यमा पार्दैन । ‘द पावर–मुभ डट कम’ ब्लगका संस्थापक लुसियो पूर्वी रोमको अब्रुजोमा बस्छन् ।

“पुनरोक्ति जस्तो सुनिएला तर इटलियनहरू के राम्रो देखिन्छ भन्ने कुरामा ध्यान दिन्छन्, अझ संसारको बाँकी ठाउँको भन्दा फेसनेबल देखिने कुरामा बढी नै ख्याल गर्छन्,” उनले भने ।

तर इटालियनहरूको ‘डिटेल’मा ख्याल गर्ने यो ख्याति फेसनमा मात्र सीमित छैन । यसबारे हाल रोममा रहेर ‘रोम एक्चुअली’ नामको ब्लग लेख्ने सार्डिनिया मूल निवासी एन्जिला कोरियास भन्छिन्, “‘स्टाइल’सँग जोडिएका हरेक चीजमाथि इटालीको ठूलो छाप छ । यसमा खानादेखि लिएर फर्निचरसम्म पर्छन् ।”

जगजाहेर कुरा हो कि संसारमा यो देशको खानाको प्रभाव सबैभन्दा ठूलो रहेको छ । यो प्रभाव आफै अनुभव गर्नका लागि कोरियास राजधानी सहर रोम जान सुझाउँछिन् ।

“यसलाई बारम्बार आर्थिक सङ्कटले नराम्ररी हान्छ । तर यो कुराले पनि रोमका बासिन्दालाई बाहिर गएर मग्न भएर खानबाट रोक्न सकेको छैन ।” कोरियास भन्छिन्, “यहाँ तपाईं परम्परागत स्वाद र आधुनिक ट्विस्टलाई परीक्षण गर्न सक्नुहुन्छ । उदारणका लागि प्राती क्षेत्रमा रहेको पोर्तो रेस्टुराँले पारम्परिक कासिओ–ई–पेपे (रोमन पैकोरिनो चीज र मरिचसँग सिजनिङ गरिएको पास्ता) लाई समुन्द्री भोजनका रूपमा पेस गर्छ । सुन्दा यो मिश्रण अजीव लाग्न सक्छ तर चीज र समुद्री खानाको यो मिश्रण निक्कै स्वादिष्ट हुन्छ ।”

बाहिरबाट आउनेहरूका लागि इटालीमा जानुपर्ने सांस्कृतिक गन्तव्यहरूमा बोलोग्ना पनि पर्छ । बोलोग्ना पनि उसको समृद्ध खानाको संस्कृतिको लागि प्रसिद्ध छ ।

त्यस्तै अर्को लोकप्रिय गन्तव्य हो मिलान । इटालीको सबैभन्दा ठूलो व्यापारिक र फेसन हब मिलानमा पनि प्रशस्त उच्च स्तरीय रेस्टुरा छन् । साथमा यो सहरमा ठूलो र सक्रिय प्रवासी समुदाय रहेको छ ।

फ्रान्स

आधुनिकता, प्रतिष्ठा र फेसनको विधामा फ्रान्सले उच्च अङ्क हासिल ग¥यो ।

फ्रान्सको ‘जे जी सेस वेई’ नक्कल गर्ने कोसिस सबै गरिरहेका हुन्छन् । जीवनभर पेरिसमा बसेका रुबेन्स फिल्सलाई मध्यपूर्व र एसियाभरी घुम्नुअघिसम्म आफ्नो देशको संस्कृति यति धेरै चर्चित छ भन्ने थाहा थिएन ।

‘बिन अराउण्ड द ग्लोब’ नामको ब्लगमा आफ्ना भ्रमण अनुभवबारे लेख्ने फिल्सले भने, “अत्यन्त सुदूर स्थानका मानिसहरूलाई पनि फ्रेन्स खानाबारेमा थाहा रहेछ । साथमा उनीहरू फ्रेन्स कला, फ्रेन्स फेसनबाट प्रभावित छन् । मैले इरानमा ‘मोलिएर’ मन पराउने कैयौँ व्यक्तिहरू भेटेँ । लौ इरानका मानिसहरूलाई ‘मोलिएर’बारे थाहा रहेछ, यो कुरा थाहा पाउँदा म त ‘स्तब्ध’ नै भएँ ।”

स्वाभाविक रूपमा फेसनदेखि लिएर खानासम्मका फ्रेन्स संस्कृति अनुभव गर्नका लागि सबैभन्दा उपयुक्त स्थान भनेको पेरिस नै हो । बोर्दो, लियोन र टालुज त्यसपछिका उपयुक्त विकल्प हुन् ।

बोर्दो एक प्रतिष्ठित सहर हो । यहाँ ‘ठूलो मात्रामा उत्कृष्ट गुणस्तरको वाइन बनाइन्छ ।’ पेरिस बाहिर सबैभन्दा बढी ऐतिहासिक भवनहरू पनि यहीँ छन् ।

लियोन, फ्रान्सको तेस्रो सबैभन्दा धेरै जनसङ्ख्या भएको सहर हो । यो सहर पाक कलाका लागि चर्चित छ ।

टालुल दक्षिणी अक्सिटनिई क्षेत्रको राजधानी हो । यो सहरले २००० वर्षभन्दा प्राचीन गौरवशाली इतिहास बोकेको छ । यसको इतिहासले रोमन कालसम्म छोएको छ । यहाँको गुलाबी टेराकोटा संरचनाले गर्दा यसले ‘ला भिले रोज’को उपनाम पाएको छ ।

फ्रेन्सहरू विश्वलाई आकार दिएका आफ्ना पहिचानहरूमा निक्कै गर्व गर्छन् । यस पहिचानमा फ्रेन्स भाषा पनि सामेल छ । तर नयाँ प्रवासीहरूका लागि भने यो भाषा निक्कै चुनौतीपूर्ण सावित हुन्छ ।

“फ्रान्सका अधिकांश मानिसहरू टुटे–फुटेको अङ्ग्रेजी पनि बोल्दैनन् । अङ्ग्रेजी बोल्न आएको अवस्थामा पनि उनीहरू बोल्दैनन्,” फिल्सले भने, “यसैले प्रवासीहरूले फ्रान्समा घुलमिल हुनको लागि फ्रेन्च भाषा सिक्नुपर्छ किनकि तपाईंको लागि त उसले तपाईंको भाषा त सिक्दैन ।”

अमेरिका

‘आधुनिकता’ र ‘मनोरञ्जनमा प्रभावशाली’ भएकोमा उच्च अङ्क प्राप्त गरेको अमेरिकाको फिल्म, सङ्गीत र टिभी कार्यक्रमको आनन्द पूरा संसारले लिन्छ ।

यदि संसारको अन्य कुनै देशले कुनै क्षेत्रमा केही पहिला ग¥यो भने पनि अमेरिकाले त्यसलाई ठूलो र लोकप्रिय बनाएर विश्वव्यापी बनाउनका लागि प्रसिद्ध छ ।

फेसबुक, ट्विटर, गुगल र एमेजनको उद्गमस्थल यो देशको प्रविधि उद्योगले विश्वभरी आफ्नो बलियो प्रभाव पारेको छ । यी सेवाहरू र सामाजिक सञ्जालमार्फत संसारभरीका अर्बाैं मानिसहरू दैनिक अन्तक्र्रिया गर्छन् ।

अमेरिकाको यो प्रभावशाली परिचय यसको सामान्य पृष्ठभूमि भएकाहरूले पनि ठूलो सपना देख्न सकिन्छ भन्ने विश्वासको जगमा उभिएको छ । अमेरिकनहरूलाई यसलाई ‘अमेरिकन ड्रिम’ भन्छन् ।

युनिभर्सिटी अफ कोलोराडोको टेलिकम्युनिकेसन विभागका प्रध्यापक एन्ड्रयु सलेपक यसबारेमा भन्छन्, “हामी अझै पनि ‘अमेरिकन ड्रिम’मा विश्वास गर्छौं, त्यो पनि त्यो देशमा जुन कुनै समय ऋणमा थिचिएका, दासदासीहरू र धार्मिक उत्पीडनबाट उम्कन भागेका र विश्वका गरिबहरूको बसोबास रहेको ब्रिटिस उपनिवेश हुने गथ्र्यो ।”

यो देशको सबैभन्दा ठूलो सहर न्युयोर्क सिटी यस मूल्यको जिउँदो जाग्दो उदाहरण हो । फ््रयाक सिनेट्राको शब्दमा, “यदि मैले यो सहरमा ठाउँ बनाएँ भने म जहाँसुकै ठाउँ बनाउन सक्छु,” अझै पनि यो सहरमा लागू हुन्छ । यो सहरलाई ‘कहिल्यै नसुत्ने सहर’ भनिन्छ ।

यस देशको अर्को किनारमा रहेको हलिउडले अमेरिकीको मात्र होइन सम्पूर्ण दुनियाँको संस्कृतिलाई अकार दिएको छ ।

सलेपक भन्छन्, “यहाँ बन्ने अमेरिकी टिभी सो र फिल्महरूले हामी कसरी बोल्छौँ, के लगाउँछौँ, के हेर्छौं र हामी को हौँ भन्नेमा समेत प्रभाव पार्छ ।”

यी दुई सहरबीच समुद्र, मरुभूमि, खेत र पहाडहरूको निक्कै विस्तृत भूगोल रहेको छ र यो देशमा बस्ने ३० करोडभन्दा बढीको जनसङ्ख्या आफ्नो देशको विविधतामा गर्व गर्छ ।

यसबारे बोस्टनमा बस्ने र ‘द रनिङ पब्लिसिस्ट’ नामक ब्लग लेख्ने जोन सालासको भनाइ छ, “हाम्रो परम्परागत पृष्ठभूमिजस्तै हाम्रो फरक सांस्कृतिक मूल्य र हुर्काइ रहेको छ ।”

सालास यसबारे थप भन्छन्, “यही कुरा भूगोलमा पनि लागू हुन्छ । तपार्इंको व्यक्तित्व र तपाईंलाई के फाप्छ भन्ने आधारमा तपाईं जानु हुने सहरमा अमेरिकाको अनुभव अलग हुन्छ । न मियामी सिकागोजस्तो छ, न न्यु अर्लियन्स कुनै हिसाबमा न्युयोर्क जस्तो छ । प्रत्येक सहरलाई उसको इतिहास र मानिसहरूले आकार दिएका छन् । यदि तपाईं एक क्षेत्रमा बसिरहनुभएको छ र त्यहाँ तपाईंले खोजे जस्तो पाउनुभएन भने अर्को कुनालाई ‘ट्राई’ गर्न सक्नुहुन्छ ।”

स्पेन

एक जमानामा सबैभन्दा ठूलो विश्वविजेता र साम्राज्य हो, स्पेन । यस हिसाबले पनि स्पेनले दक्षिणी अमेरिकादेखि लिएर वेस्ट इन्डिजसम्म आफ्नो छाप छोडेको छ ।

मातृभाषा बोल्नेहरूको आधारमा चिनियाँ भाषापछि संसारमा सबैभन्दा बढी बोलिने भाषा पनि स्पेनिस नै हो । यस कारणले स्पेनिस भाषाको फिल्म, टिभी कार्यक्रम र सङ्गीतले यो देशलाई धेरै ठाउँसम्म प्रभाव फैलाउन सहयोग गरेको छ ।

स्पेनको ग्यालिसिया क्षेत्रमा बसोबास गर्ने इन्मा ग्रिगोरियो ‘ए वल्र्ड टु ट्राभल’ नामको एक ब्लग लेख्छन् । आफ्नो अनुभवबारे ग्रिगोरियो भन्छन्, “म गएको हरेक ठाउँमा आफ्नो देशको केही न केही छाप देखेकै हुन्छु । यसमा स्पेनिस भाषादेखि धर्म, खानपान, चाडपर्व र अन्य धेरै पक्षहरू हुन्छन् ।”

स्पेनको खान–पान संसारभरीजसो फैलिएको छ । यसका साथै देशभित्र पनि यसले स्थानीयलाई पनि जोडेर राखेको छ ।

बार्सिलोनामा बस्ने र ‘बार्सिलोना इट लोकल कुलिनरी एक्सपेरियन्स’ वेबसाइटका संस्थापक एन्ड्रे एरियाज भन्छन्, “स्पेनमा खानपान सौखभन्दा जीवनशैली हो । यहाँ खानुको अर्थ मिलिजुली र बाँडिचुँडी खानु हो । त्यसमा साथीभाइ पनि हुनसक्छन् वा तपाईं वरिपरि बसेर खाइरहेका अपरिचित व्यक्तिहरू नै पनि हुन सक्छ तर खाने समयमा यहाँ सधैँ गफ हुन्छ ।”

परिवार र साथीभाइलाई कामभन्दा महत्व दिने यो देशका लागि समाजिक घुलमिल निक्कै महत्वपूर्ण छ । यसैले खाना अवधि लामो हुने र परिवारिक भेलामाझ हुनु सामान्य हो ।

ग्रगोरियोको भन्छन्, “हामी बाँच्नका लागि काम गर्छौं न कि कामका लागि जिउँछौँ । अघिल्लो वर्ष संवैधानिक सङ्कट हुँदा पनि यहाँका बारहरू दिन रात भरिभराउ थिए ।”

संयुक्त अधिराज्यबाट आएका र विगत छ महिनोदखि सेभियामा बसिरहेका कोरी भर्ग यहाँको संस्कृतिबारे भन्छन्, “मलाई स्पेनमा बस्न मन पर्छ किनकि यहाँ सबैजना अत्यन्त सहज छन् । यहाँको जीवनप्रतिको धारणा भनेको यसलाई क्षण क्षण रमाएर जिउनुपर्छ भन्ने छ ।”

“स्पेनिसहरू मित्रवत छन्,” ब्रसेल्सबाट आएर भ्यालेन्सियामा बसिरहेका बरनार्डले स्पेनमा बस्दाको अनुभवबारे भने, “यहाँ कसैले तपाईंको भाषा नबुझे पनि जसरी भने पनि तपाईंलाई मद्दत गर्ने प्रयास गर्छन् ।”

ब्रिटेन

‘प्रतिष्ठा’ शीर्षकमा निक्कै माथि आएको ब्रिटेनका बासिन्दाहरू आफ्नो बलियो काम संस्कृति, सिर्जनशिलता र नयाँ आविष्कार गर्न परिवर्तन हुन सक्ने खुल्लापन आदिलाई जोड्न सक्ने क्षमतामा गर्व गर्छन् ।

लन्डनमा बस्ने लेखक आयान हकिन्स भन्छन्, “हाम्रो विश्वविद्यालय संसारको सर्वश्रेष्ठ विश्वविद्यालयमा गनिन्छ र हाम्रो उद्यमशील स्वभाव पनि संसारभर परिचित छ । यो कुरा पनि नभुल्नुस् कि मेसिन कोड, कम्प्युटर र वल्र्ड वाइड वेब सबै ब्रिटिसहरूले आविष्कार गरेका थिए ।”

अङ्ग्रेजी भाषाको प्रभाव र लचिलोपनले ब्रिटेनलाई एक यस्तो देश बन्न सम्भव बनायो जहाँ बाहिरबाट मानिसहरू आफ्नो भविष्य बनाउन आउँछन् ।

“हाम्रो भाषा अन्य भाषाहरूबाट शब्द पैँचो लिन समृद्ध छ । यो कारणले मानिसहरू सजिलैसँग अङ्ग्रेजी भाषा सिक्न सक्छन् । ११ वर्ष पहिले मेरो एक मित्र केवल ७०० पाउन्ड लिएर भेनेजुएलाबाट लन्डन आएको थियो । त्यो समय उसलाई अङ्ग्रेजी फिटिक्कै आउँदैन थियो । आज ऊ एक परिचित व्यापारिक कन्सल्टेन्ट हो र ३० वटा रेस्टुरा र पसलहरू सञ्चालन गरिरहेको छ । कोही पनि ब्रिटेन आउन सक्छन् र यहाँ आएपछि एक ब्रिटिस जत्ति नै ब्रिटिस बन्न सक्छ ।”

तर बाहिरबाट आएकाहरूले यो कुरा बुझ्न जरुरी हुन्छ कि अङ्ग्रेजहरू सधैँ आफ्नो असली मनसुवा व्यक्त गर्दैनन् । यसका लागि उनीहरूको ‘बिटविन द लाइन्स’मा ख्याल गर्नुपर्छ ।

‘द बुटिक एडभेन्चर’ नामक ब्लग लेख्ने अस्ट्रेलियाली मुलकी एमन्दा ओ’ब्राइन भन्छिन्, “भाषा र भाव–भङ्गीमा दुवैमा ध्यान दिन एकदम जरुरी हुन्छ । मलाई नै थाहा थिएन ‘आई एम नट सोयर’को अर्थ ‘म पक्का छुइन’ भन्दा बढी ‘हुँदैन’ वा ‘होइन’ हुन्छ भनेर ।”

देशको व्यापार र आर्थिक केन्द्र हुनुको कारण बाहिरबाट काम गर्न आउने आप्रवासीहरूको पहिलो रोजाई लन्डन हुने गर्छ । यो सहरको बसोबास खर्च अत्यधिक भए पनि यहाँ प्रशस्त मात्रामा रहेका सङ्ग्रालय, कन्सर्ट स्थल र थिएटरहरूले यहाँ बसोबास गर्नेलाई विश्वस्तरको सांस्कृतिक वातावरण महसुस हुन्छ ।

पेरिस मूल रहेका ग्रिगोरी गोलिन्स्कीले आफ्नो लन्डन बसाइबारेमा भने, “स्यामुअल जोन्सनले एक पटक भनेका थिए कि ‘जब कोही लन्डनबाट वाक्क हुन्छ ऊ जीवनबाटै वाक्क भएको हुन्छ’ । म यो भनाइसँग पूरै समहत छु । किनकि लन्डनमा यति धेरै आकर्षणहरू छन् कि तपाईं प्रत्येक सप्तान्तमा फरक स्थानहरू छान्न सक्नुहुन्छ । तपार्इंलाई कुनै चीज पनि दोहा¥याएर गर्ने आवश्यकता पर्दैन ।”

तर संस्कृतिमा अग्रभागमा रहने लाभ लन्डनमा मात्र सीमित छैन । सांकृतिक प्रभावको दृष्टिले एडिनबरा पनि कुनै हिसाबमा कम छैन ।

यो सहरले विश्वको सबैभन्दा ठूलो कला फेस्टिभल ‘फ्रिन्ज फेस्टिभल’को आयोजना गर्छ । साथमा एडिनबरा ‘ह्यारी पोर्टर’को जन्मभूमि हो ।

ब्रिटेनको मुटुमा रहेको बर्मिघंम सहर पनि यो मामलमा प्रतिस्पर्धी सहर हो ।

“क्लबदेखि लिएर अर्केस्टासम्म बर्मिघंममा शानदार संस्कृति रहेको छ । यहाँ भेनिसभन्दा बढी नहर छन् । यहाँको ज्वेलरी क्षेत्रमा अत्याधुनिक फेसन र परम्परागकताको अद्भूत मेल देखिन्छ ।” (बीबीसीबाट )

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.