मोरङ, असोज १२: विराटनगरसँगै जोडिएको भारतीय बजार जोगबनीमा प्रति किलो ५४ रुपैयाँमा पाउने चिनी उपभोक्ताले यहाँको बजारमा ८० रुपैयाँमा खरिद गर्न बाध्य छन् ।
सरकारले चिनी आयातमा बन्देज लगाएदेखि बजार मूल्य बढ्दै गएको छ। चाँडपर्व नजिकिंदै गएको अवस्थामा सरकारले बन्देज लगाएको एक सातामा विराटनगरमा चिनीको मूल्य किलोमा १५ रुपैयाँ बढेको हो । सरकारले चिनी आयातमा बन्देज लगाएपछि व्यापारीहरुले कृत्रिम अभाव सृजना गरी मूल्य बढाएको हो । संघीय सरकारको मन्त्रिपरिषदको भदौ ३१ गतेको निर्णयले चिनीको आयातमा असोज ४ गतेदेखि परिमाणत्मक बन्देज लगाएको छ । सरकारी निर्णयसँगै व्यापारीहरुले चिनीको कृत्रिम अभाव सृजना गरेर मूल्य वृद्धि गरेको हो ।
एक साता अघि किलोको ६५ रुपैयाँमा पाउने चिनीको मूल्य अहिले एक्कासी ८० रुपैयाँ पुगेको छ। विराटनगरसँगै जोडिएको भारतीय बजार जोगबनीमा प्रति किलो ५४ रुपैयाँमा पाउने चिनी उपभोक्ताले यहाँको बजारमा ८० रुपैयाँमा खरिद गर्न बाध्य छन् । विराटनगरस्थित भाटभटेनी सुपरमार्केटले भने चिनीको मूल्य ५९ रुपैयाँ यथावत राखेको छ । भाटभटेनीले प्रति किलो ५९ रुपैयाँको दरमा एक जना उपभोक्तालाई दुई किलोमात्रै चिनी बिक्री गर्दै आएको छ । यसअघि ५ किलोको दरले उपभोक्तालाई बिक्री गरिदै आएको चिनी स्थानीय व्यापारीले खरिद गरेर महगोमा बिक्री गर्न थालेपछि दुई किलोमा झारेको भाटभटेनी प्रशासनले जनाएको छ ।
विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी शुशीलकुमार थापाले मन्त्रिपरिषदको निर्णयले भारतबाट चिनी आयातमा परिमाणत्मक प्रतिबन्ध लगाएको बताए। वर्षौंदेखि सीमावत्र्ती क्षेत्रका बासिन्दाले भारतीय बजार जोगबनीबाट दैनिक उपभोग्यका सामग्री खरिद गर्दै आएको तर अहिले चाँडपर्वको मुखमा चिनी आयातमा प्रतिबन्ध लगाएपछि आक्रोशित भएका छन् । जोगबनीबाट २ किलोभन्दा बढी चिनी खरिद गरेर आएका नेपाली उपभोक्तालाई सीमामा खटिएका शुरक्षाकर्मीले जफत नगरी खरिद गरेको पसलमा नै फित्र्ता गर्न लगाउने गरेको उपभोक्ताहरुले गुनासो पोखेका छन्।