वाइडबडी खरीदबारे अध्ययन गरिने

| 2018 Sep 27 | 12:23 pm 2055

काठमाडौं, असोज ११: प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले नेपाल वायु सेवा निगमका वाइडबडी विमान खरीद प्रकरणमा अनियमितता भएको भन्ने विषयमा अध्ययन गर्ने भएको छ ।

समितिको आजको बैठकमा सांसदले वाइडबडी खरीदमा अनियमितता भएको भन्ने विषयमा सम्बन्धित अधिकारीसँग आवश्यक छलफल गर्नुपर्ने सुझाव दिएका थिए ।

उहाँहरुले महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनको बेरुजु सम्बन्धमा अध्ययन गरी असुलउपर गर्नुपर्ने रकम असुल गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुपर्ने बताएका थिए । सांसदले महालेखा परीक्षकको लेखा परीक्षणको प्रभावकारिताका सम्बन्धमा समेत चासो राखेका थिए ।

महालेखा परीक्षकको कार्यालयले समेत वाइडबडी खरीद अनियमितता सम्बन्धमा प्रतिवेदन तयार गरेको छ । समितिको शुक्रबार बस्ने बैठकले वाइडबडी खरीद प्रकरण र अन्य बेरुजुका बारेमा महालेखा परीक्षकसँग छलफल गर्ने समिति सभापति भरतकुमार शाहले जानकारी दिए।

बैठकमा हृदयेश त्रिपाठी, विरोध खतिवडा, राजेन्द्रकुमार केसी, प्रेमबहादुर आले, पुष्पाकुमारी कर्ण कायस्त, धर्माशिला चापागाईलगायतले वाइडबडी विमान खरीद अनियमितता, बेरुजु फछ्र्योट, द्रुतमार्ग निर्माणलगायत विषयमा चासो व्यक्त गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.