पहिरोले तीन महीनादेखि बाटो अवरुद्ध

रिपोर्ट नेपाल | 2018 Sep 26 | 09:18 am 2702

जुम्ला, असोज १० : अविरल वर्षापछि आएको पहिरोका कारण उर्थु- लासी सडकखण्ड तीन महीनादेखि बन्द छ। पातारासी गाउँपालिकाको उर्थुदेखि डिल्लीचौरको लासी बजारसम्म ठाउँ ठाउँमा पहिरोले सडक भत्काएको छ ।

सो सडकखण्डमा यातायात सेवा ठप्प छ । सर्वसाधारणलाई पैदल हिँड्न समेत समस्या भएको छ । लामो समयदेखि सडक बन्द हुँदा पनि सम्बन्धित निकायको ध्यान जान सकेको छैन । “सडक बनाउन कसैले चासो देखाएका छैनन्,” पातारासी गाउँपालिका–५ का विर्षबहादुर बुढाले भन्नुभयो । सो क्षेत्रका व्यापारीले भरियामार्फत सामान ढुवानी गर्दै आएका छन् ।

“दैनिक उपभोग्य वस्तुको अभाव भएको छ, सामान महङ्गो भएको छ,” पातारासी–५ का मुनबहादुर बुढाले भने। वर्षात्को समय भएकाले लगातर पहिरो खसेका कारण सडक बनाउन ढिलाइ भएको पातारासी गाउँपालिकाका अध्यक्ष लछीमन रोकायाको भनाइ छ । बाटोमा ठूल्ठूला ढुङ्गा खसेका छन् । पहिरो खस्ने डरले सडक तत्काल बनाउन कठिनाइ भइरहेको रोकायाले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.