कारागारबिहीन जिल्ला

| 2018 Sep 25 | 08:25 am 7236

रुकुम पूर्व, असोज ९: गत वर्ष छुट्टै जिल्लाको मान्यता पाएको रुकुम पूर्वमा अझै कारागार स्थापना हुनसकेको छैन । जिल्लामा कारागारको व्यवस्था नहुँदा यहााँका कैदीबन्दीलाई रुकुम पश्चिमको कारागार पठाउनुपर्ने बाध्यता छ ।

जिल्ला अदालत स्थापना भएयता १५ कैदीबन्दीलाई रुकुम पश्चिम पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लोकनाथ तिम्सिनाले जानकारी दिए। जिल्लामा कारागार नहुँदा कैदीबन्दीलाई पूर्व र पश्चिम ओहोरदोहोर गराउन कठिनाइ हुने गरेको छ। “बाटो असहज छ, थुप्रै चुनौतीका बीच कैदीबन्दीलाई रुकुम पश्चिम पठाउनु परिरहेको छ,” तिम्सिनाले भने।

आफ्नै जिल्लाका कैदीबन्दी राख्न गाह्रो भइरहेको बेला अर्को जिल्लाबाट कैदी ल्याएर राख्दा थप समस्या भएको रुकुम पश्चिम कारागारका जेलर लोकबहादुर घर्तीले बताए। कारागारमा कैदीको व्यवस्थापनका साथै अदालतमा उपस्थित गराउन निकै समस्या भएको उनको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले कारागार स्थापनाका लागि गृहमन्त्रालय तथा कारागार व्यवस्थापन विभागमा पटक पटक ताकेता गर्दैआएको बताए। उनले भने, “तत्काल कारागार स्थापना गर्न नसके अरु समस्या आउनुका साथै व्यवस्थापनमा थप समस्या हुन्छ ।” कारागारका लागि संरचना निर्माण गर्न जग्गा उपलब्ध गराउन सिस्ने गाउँपालिकासँग छलफल भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.