काठमाडौं, असोज ९: गोरखा फुजेलका नूरप्रसाद अधिकारीले मुद्दा हारेपछि पाटन उच्च अदालतमा तोडफोड गरेका छन्। आइतबार अपराह्न ४:४५ बजे नूरप्रसादले वारेसमार्फत अदालतमा चलिरहेको मुद्दा हारेपछि तोडफोड गरेको अदालतले जनाएको छ।
पाटन उच्च अदालतका सूचना अधिकारी ध्रुव सुवेदीका अनुसार इजलास अधिकृत रोशन बस्नेतसहित अदालतका कर्मचारीमाथि पनि आक्रमण भएको छ। नूरप्रसादले प्रहार गरेको कुर्सी छल्न सकेकाले मानवीय क्षति हुनबाट जोगिएको भन्दै सुवेदीले बस्नेतलाई ताकेर हानिएको कुर्सीले लागेर अदालतको झ्यालका सिसा फुटेको जानकारी दिए।
आइतबार विष्णुमाया घतानीसहितका पाँच थान मुद्दामा पाटन उच्च अदालतमा पुनरावेदन थियो। नूरप्रसादको मुद्दामा वारेस बनेर आएका थिए। तर, न्यायाधीशद्वय रमेश पोख्रेल र शेखरप्रसाद पौडेलको इजलासले जिल्ला अदालतकै आदेश सदर गरेपछि उनी गालीगलौज, तोडफोड र कुटपिटमा उत्रिएका हुन्।
बहस सकिएपछि न्यायाधीशद्वय पोख्रेल र पौडेलले निर्णय सुनाउँदै गर्दा आफ्नो पक्षमा फैसला नआएपछि आक्रोशित भएर नूरप्रसादले सुरुमा न्यायाधीश र कर्मचारीलाई अपशब्द बोली गालीगलौज गरेका थिए। ‘सुरुमा अपशब्द बोली गालीगलौज गरे। त्यसपछि इजलास अधिकृत रोशन बस्नेत रहेको ठाउँको कम्प्युटर खसाले, लगत्तै दराजका सिसाहरू फुटाए र कुर्सी उचालेर प्रहार गरे,’ सूचना अधिकारी सुवेदीले भने, ‘कुर्सीको प्रहार छलेर अधिकृत बस्नेत जोगिए। त्यो कुर्सी झ्यालको सिसा फुटाएर तल खस्यो। दराज, झ्यालको सिसा, कम्प्युटर पोडियम र पुस्तकहरूमा क्षति पुगेको छ।’
सुवेदीका अनुसार आइतबार समय अभाव भएको र सोमबार उपत्यकामा सार्वजनिक बिदा परेकाले उनको जाहेरीमाथि म्याद थपको निर्णय हुन सकेको छैन। मंगलबार अदालत खुलेपछि पेस गरिने उनले जानकारी दिए।