काठमाडौं, असोज ८ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको अधिनायकवाद उन्मुख शैलीलाई असफल बनाउन पार्टीका नेता-कार्यकर्तालाई निर्देशन दिएका छन् ।
पार्टीको विधान संशोधन प्रारम्भिक मस्यौदामा सुझाव संकलनका लागि सोमबार पार्टी कार्यालय सानेपामा आयोजित प्रदेशस्तरीय भेलामा सभापति देउवाले राष्ट्रिय हितका लागि पार्टीको स्वार्थ अनुकूल अघि बढ्न कार्यकर्तालाई निर्देशन दिँदै सरकारको हरेक गलत कदमलाई असफल बनाउन निर्देशन दिएका हुन् ।
उनले राष्ट्रलाई सबै खालको अन्यायबाट मुक्त गराउने कामको नेतृत्व लिने बेला पार्टीका नेता, कार्यकर्ताहरू विगतमा अलमलिएर बस्न नहुने पनि स्पष्ट पारे । मुलुकलाई सबै खालको अन्यायबाट मुक्त बनाउन कांग्रेस बलियो शक्तिको रूपमा स्थापित हुन जरुरी रहेको भन्दै देउवाले राष्ट्रिय हितका लागि पार्टीको स्वार्थ अनुकूल अघि बढ्न पनि नेता, कार्यकर्तालाई आहृवान गरे ।
मुलुकका लागि अत्यन्तै राम्रो संविधान बनाउने नेतृत्व लिएको काँग्रेसले पार्टीको विधान पनि अत्यन्तै राम्रो बनाउन समेत सभापति देउवाले आग्रह गरे । विधान संशोधन प्रारम्भिक मस्यौदामा निर्वाचन समिति, अनुशासन समिति, सक्रिय सदस्य छानबिन समितिलगायतका समितिहरू पनि प्रस्ताव गरिएको छ ।