काठमाडौं, असोज ६ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले देशले अब गरीबी, निरक्षरता र बेरोजगारी सहन नसक्ने बताएका छन्।
शहीद अजबलाल स्मृति प्रतिष्ठानले यहाँ आयोजना गरेको ‘शहीदका सपना र सरकारको दायित्व’ विषयक अन्तक्र्रियामा उनले देश र जनताको पक्षमा बलिदान गर्ने शहीदको सपना साकार पार्न देशलाई समृद्धिको दिशामा अघि बढाउनुपर्ने बताएका हुन्।
पूर्वप्रधानमन्त्री समेत रहनुभएका नेता खनालले भने, “मुलुकले गरीबी, बेरोजगारी र अशिक्षा सहन सक्दैन । जनताले विश्वास गरेर दुई तिहाइको सरकार बनेको छ । यो मत खेर जान दिनुहुन्न । शहीदको सपनालाई साकार तुल्याउन देशलाई समृद्धि र आत्मनिर्भरतातर्फ बनाउनैपर्छ ।”
उनले विभिन्न खाले सङ्घर्षबाट प्राप्त सङ्घीय गणतन्त्रलाई संस्थागत तथा संविधान कार्यान्वयनलाई गति दिँदै उपलब्ध स्रोतसाधनको भरपुर उपयोग गरी मुलुकलाई आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिए।
नेकपा प्रदेश नं २ का अध्यक्ष प्रभु साहले तत्कालीन जनयुद्धका शहीदलाई सरकारले राष्ट्रिय शहीदको सूचीमा राखी आश्रित परिवारलाई राज्यका विभिन्न निकायमा आरक्षणको व्यवस्था गर्नुपर्ने खाँचो औँल्याए।
समाज रुपान्तरणका खातिर जीवन बलिदान गर्ने शहीद अझै पनि सामाजिक अपमान तथा आर्थिक समस्या भोग्न बाध्य रहेको भन्दै उनीहरुलाई सामाजिक सम्मानको वातावरण सिर्जना गरिनुपर्नेमा जोड दिए।
नेकपाका केन्द्रीय सदस्य धर्मदत्त देवकोटाले शहीदको योगदानलाई कदर गर्दै उनीहरुका परिवारलाई जीविकोपार्जनको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराए।
प्रतिष्ठानका अध्यक्ष शीला यादवले राजनीतिक परिवर्तनका लागि जीवन बलिदान गर्ने शहीदलाई राष्ट्रले उच्च सम्मानका साथ परिवारको हेरचाहमा ध्यान दिनुपर्ने बताए।
तत्कालीन नेकपा (माओवादी) जनयुद्धका क्रममा विसं २०५८ चैत ९ गते अजबलाल यादवको मृत्यु भएको थियो ।