काठमाडौं, असोज ६: छोराको हत्यारालार्इ कारबाहीको माग गर्दैगर्दा नन्दप्रसाद अधिकारीले ज्यान गुमाएको आज चार वर्ष पुरा भएको छ। गोरा फुजेल गाउँ-७ का कृष्णप्रसाद अधिकारीको हत्या भएको १४ वर्ष पुरा भएको छ।
मुलुकमा १४ वर्षमा १४ सरकार फेरिए। तर पनि अहिलेसम्म हत्यारालार्इ कारबाही हुन सकेको छैन। गंगामाया अहिले पनि न्यायको भिख माग्दै विर अस्पतालको क्याबिनमा छिन्। उनले नेपालमा न्याय दिने मानिस नभएकोले आफूले न्याय नपाएको बताएकी छन्।
उनले भनिन, ‘अपराधीलार्इ न्याय दिने मानिस यस मुलुकमा जन्मेको छैन। त्यसै म अन्तर्राष्ट्रिय अदालत जान तयारी छु।’
गंगामायाले आफूलार्इ राज्यले ठगेको समेत आरोप लगाएकी छिन्।
२०७१ असोज ५ मा अनसनकै क्रममा ज्यान गुमाएका नन्दप्रसाद अधिकारीको शव अहिले पनि शिक्षण अस्पतालमै राखिएको छ। छोराले न्याय नपाउन्जेलसम्म श्रीमानको दाहसंस्कार गर्न नदिने अडानमा गंगामाया छिन्।
चितवन जिल्ला अदालतले १३ प्रतिवादीमध्ये १२ जनालाई सफाइको फैसला गरिसकेको छ। तर, गंगामाया भने हत्यारालार्इ कारबाही नगरे फेरि अनसन शुरु गर्ने चेतावनि दिएकी छिन्।