के भयो आत्मविश्वासी ओलीलाई ? किन सिथिल देखिँदैछ शक्तिसाली सरकार ?

| 2018 Sep 21 | 08:45 am 14681

– महेन्द्र पाण्डेय

कुनै समय झापाका खड्गप्रसाद ओली पञ्चको आँखाका कसिंगर थिए । पञ्चायत शासन र पञ्चहरूका लागि चर्का कुरा गर्ने, बिझाउने बोली बोल्ने ओली ‘अराष्ट्रिय तत्व’ थिए । तर तिनै ‘अराष्ट्रिय तत्व’ खड्गप्रसादलाई यसरी मुलुककै सर्वोत्कृष्ट स्थानमा देख्नुपर्ला, उनीद्वारा शासित हुँदै शासकीय भूमिकामा ओलीको जगजगी टुलुटुलु हेर्ने भूमिकामा आफूहरू खुम्चिनुपर्ला भन्ने कुरा अहिले जिवीत रहेका पूर्वपञ्चहरूले कल्पनासम्म पनि गरेका थिएनन् ।

खड्गप्रसाद ओली ०५१ को मध्यावधि निर्वाचनबाट मनमोहन अधिकारीको नेतृत्वमा बनेको सरकारमा गृहमन्त्री बनेका थिए र अहिले संघीय मुलुकको प्रधानमन्त्री छन् । ०५१ मा गृहमन्त्री बन्दाको समय पातलो सुन्दर अनुहारका केपी ओली लोभलाग्दो जुँगाका साथ चस्मा लगाएर सार्वजनिक कार्यक्रममा सरिक हुँदा एमालेका कार्यकर्ताले भावी कमाण्डरका रुपमा कल्पना गर्ने गर्थे । हुन पनि त्यसबेलादेखि गएको निर्वाचनसम्म ओलीले मुलुक बनाउने सुन्दर सपना बाँड्दै पछिल्तिर नफर्की अघि बढेको आभास हुन्थ्यो ।

तर, त्यस्ता दृढ या हठी खालका खड्गप्रसाद ओली पछिल्लो समयमा धेरै झस्कने र अगाडीभन्दा पछाडितर्फ फर्किएर नजर लगाउने गर्न थालेका छन् । यो जिज्ञासा जगाउने सन्दर्भ बन्न पुगेको छ । जमाना यस्तो थियो कि केपीको बोली बन्दुकको गोली भन्दा फरक हुँदैनथ्यो, तर अहिले केपीको बोली बारुदबिनाको गोली जस्तै बन्न पुगेको छ । जमाना यस्तो थियो– विपक्षीले लगाएका आरोप केपीले मञ्चबाट मन्द मुस्कानसाथ दिने प्रत्युत्तर रामवाण भन्दा खतरनाक हुन्थ्यो भने अहिलेका ओली अलि बढी रिसाहा, विपक्षीप्रति आक्रामक अभिव्यक्ति दिने र आक्रोशित देखिन्छन् । वास्तवमा यस्तो अवस्था किन आयो होला ? यस विषयमा ओलीकै दलका नेता–कार्यकर्ता बढ्ता जानिफकार होलान् ।

उनी किन त्यस्ता भए भन्ने प्रश्नको जवाफ खोज्न नेकपाका कार्यकर्ताहरू लागिपर्ने बेला आएको छ । तत्कालिन माओवादीको समर्थनमा प्रधानमन्त्री बनेका बेला केपी ओलीले देखेका नेपाल र बनाउन खोजेको देशको मार्गचित्रअनुरुप छोटो अविधिमा ज्यादै राम्रा काम भएको कुरालाई पूर्वाग्रही हुनु पनि हुँदैन । त्यसैको परिमाणस्वरुप स्थानीय, प्रदेश र केन्द्रीय सरकार बनाउनका लागि जनताले जनमत दिएका हुन् । यो पंक्तिकार कम्युष्टि विचारप्रति असहमत राख्ने व्यक्ति भए पनि केन्द्रीय र प्रान्तीय सरकार बहुमतको मात्र दुई तिहाइको हुँदा खुसी भएको थियो । लामो समयदेखि बलियो सरकार नभएका कारणले नेपाली राजनीतिमा देखिएको विकृति र विसंगति नेताहरुमा देखिएको विकृति विचारले देश प्रसव पीडामा थियो । मलुकको राजनीति र समाजमा देखिएको अनुशासनहीनता सही मार्गमा आउने भयो भनेर पंक्तिकार खुसी भएको थियो ।

आत्मविश्वासी केपी ओली किन हो यतिबेला थाकेको भरिया, बाटो बिराएको यात्री, निद्रा नपुगेको मनुष्य र भोको पेट भएको मान्छे जस्तै देखिन्छन् । अविश्राम काम गर्ने उनको क्षमता किन सुस्ताएको छ ? समृद्ध नेपाल, सुखि नेपाली जस्तो पवित्र र सुन्दर सपना देखेका ओलीलाई कसले कसरी झस्काइदियो ?

केपी ओलीको चतुर खेल प्रचण्डको सबैलाई मिलाउन सक्ने क्षमताका कारण देशले काँचुली फेर्ला भन्ने जुन सोच र चिन्तन थियो यो समयसम्मको गतिविधि हेर्दा त्यो सोच त्यो सपना चकनाचुर हुने स्थितिमा रहेको छ । हिजो त्यति छोटो अविधिमा फटाफट अघि बढेर निर्णय गर्दै जाने केपी ओली किन हो यतिबेला थाकेको भरिया, बाटो बिराएको यात्री, निद्रा नपुगेको मनुष्य र भोको पेट भएको मान्छे जस्तै देखिन्छन् । उनले पहिला त्यो छोटो अविधिमा देखेका सुन्दर नेपाल आज किन किन धमिलोजस्तो देखिन्छ । अविश्राम काम गर्ने उनको क्षमता अघि भनिएजस्तै देखिन्छ भने उनको फूर्तिलो र हँसिलो मुहार आजकाल अलि आक्रामक जस्तो किन देखिन थालेको छ ? समृद्ध नेपाल, सुखि नेपाली जस्तो पवित्र र सुन्दर सपना देखेका ओलीलाई कसले कसरी झस्काइदियो ?

दोस्रोपटक प्रधानमन्त्री बन्दा ओलीले दिएको अभिव्यक्तिले यो पंक्तिकारको समेत मुटु ढक्क फुलेको थियो । नाफाको जीवनमा अब बाँचुन्जेल देश र जनताको लागि मरिमेटेर काम गर्ने भनेर उनले दिएको त्यो भावुक मन्तव्यले धेरैको मुटु छोएको थियो । हामी सबैलाई थाहा छ केपी ओली मृगौलासम्बन्धी समस्यालाई जितेर अर्को जुनी बाँचिरहेका छन् । आत्मविश्वासका धनी यस्ता व्यक्तिले दिएको त्यो अभिव्यक्ति साँच्चै मन छुने थियो । त्यस्तो अभिव्यक्ति दिएका ओली अहिले घेराबन्दीमा परेको सेनाजस्तै भएका छन् । दायाँबायाँ केही गर्न दिइएको छैन वा गरिएको छैन । वरिपरी बसेका सल्लाहकारको गलत सोच र व्यक्तिगत भविष्यप्रतिको चिन्ताले प्रधानमन्त्री केही गर्न नसकेका त होइनन् ? अहिले यस्ता प्रश्नहरु उठ्न थालेका छन् ।

निर्मलाको बलात्कार र हत्यापछि मुलुक बलात्कारमय जस्तै भएको छ । समयमा कानूनी उपचार नहुँदा अपराधीको मनोबल वृद्धि हुँदै गएको छ । प्राविधिक रुपमा अत्यन्तै बलियो रहेको यो सरकार अत्यन्तै कमजोर सावित भएको छ ।

हुन पनि केपी ओलीको नेतृत्व रहेको सरकार बनेको आज (असोज ५ गते शुक्रबार) २ सय २१ दिन भयो । विगतको शैली र समयलाई हेर्दा यो समय कम हो भन्ने लाग्दैन । यथार्थमा भन्ने हो भने यो समयमा महँगीले आकाश छोएर गरिब निमुखा जनता हातमुख जोर्न नसक्ने स्थितिमा पुगेका छन् । आपराधिक कृयाकलाप नियन्त्रण होला भन्दा दिन–प्रतिदिन बढोत्तरी हुँदै गएका छन् । निर्मलाको बलात्कार र हत्यापछि मुलुक बलात्कारमय जस्तै भएको छ । समयमा कानूनी उपचार नहुँदा अपराधीको मनोबल वृद्धि हुँदै गएको छ । प्राविधिक रुपमा अत्यन्तै बलियो रहेको यो सरकार अत्यन्तै कमजोर सावित भएको छ । यसले नेकपालाई त घाटा हुन्छ नै देशलाई पनि घाटा हुने निश्चित छ ।

सरकार किन यसरी कमजोर सावित भइरहेको छ, यसको खोजिनीति गर्न नेकपा कार्यकर्ता लाग्नुपर्ने हो । स्थायी सरकार मानिने कर्मचारी संयन्त्रबाट पनि पर्याप्त सहयोग नभएको त होइन ओली सरकारलाई ? स्वयम् प्रधानमन्त्रीको स्वास्थ्य स्थिति पनि कारक त होइन ? यदि त्यो हो भने केपी ओलीले आफ्नै पार्टीका अन्य नेतालाई मार्ग प्रशस्त गर्नुपर्छ । दुई तिहाई मत प्राप्त नेकपाबाहेक अन्यले सरकार बनाउन सक्ने कुनै सम्भावना छैन । सरकार कमजोर हुँदा नागरिक कमजोर र असुरक्षित हुँदा रहेछन् भन्ने ज्वलन्त उदाहरण हेर्न अहिलेको अवस्था छोडेर अन्यन्त्र जानु पर्दैन । दुई तिहाई प्राप्त सरकार नै असफल हुने अवस्था आउँदा यसले सिङ्गो देशलाई दुर्घटनामा पार्न सक्ने हुँदो सम्बन्धित पक्षले सोच्न जरुरी छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.