जाजरकोट, असोज ४ : जिल्लाको बारेकोट गाउँपालिका–४ स्थित खेताली, दियाबाल्न कोटे वनमा अवैध रुपमा जडीबुटीको चोरी निकासी बढेको छ । बिगत केही महिना यतादेखि जडीबुटी निकासी बन्द गरेपछि जडीबुटी चोरी निकासी बढेको हो ।
जुम्लाको सिमानामा रहेको उक्त वनबाट दैनिक रुपमा जडीबुटी चोरी निकासी भइरहेको बारेकोट गाउँपालिका–५ का खड्कविक्रम शाहीले बताए । जुम्लाका व्यापारीको मिलेमतोमा जडीबुटी चोरी निकासी बढेको उनको भनाइ छ ।
त्यस क्षेत्रबाट जटामसी, सतुवालगायतका जडीबुटी चोरी निकासी हुने गरेको छ । जडीबुटी चोरी निकासी हुँदा यहाँका राजश्वमा कमी आउने देखिएको छ ।
त्यस क्षेत्रका स्थानीयवासी, जिल्ला प्रहरी र जिल्ला वन कार्यालयबाट गएको टोलीले चोरी गर्दै गरेको अवस्थामा जडीबुटी बरामद गरेको छ ।चारीका लागि जुम्लाबाट आएको तस्कारको समूह जंगलमै पाल टाँगेर जडीबुटी तस्करी गरिरहेको अवस्थामा फेला पारेको छ ।
अनुगमन टोली त्यस स्थानमा पुगेपछि तस्करहरुको समूह त्यहाँबाट भागेको थियो । लामो समय देखि ती तस्करको समूहले जंगलमा लुकेर जडीबुटी चोरी निकासी गर्दै आएको छ ।
बारेकोट गाउँपालिका–४ बाट त्यस जंगलमा पुग्न करिब दुई दिन पैदल हिँड्नु पर्ने भएकाले निरन्तर अनुगमन गर्न समस्या भएको वडा नं ४ का वडाध्यक्ष सिर्जना बस्नेतले बताए।