काठमाडौं, असोज ३ : नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले मधेस केन्द्रित दलहरूले दोहोरो चरित्र देखाएको आरोप लगाएका छन् । बुधबार केन्द्रीय कार्यालय पार्टी सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मधेसी जनताको भावना विपरीत केही मधेस केन्द्रित दलहरूले दोहोरो चरित्र देखाएको बताएका हुन् ।
‘संविधान अनुसार भएका सबै गतिविधिमा संलग्न हुने, अनि यो संविधान मान्य छैन भनेर जनतामा भ्रम छर्न पाइन्छ ? ’ उनले भने, ‘यही संविधान अनुसार चुनावमा भाग लिने । यही संविधान अनुसार सबै लाभका पद लिने, संविधान अनुसार स्थानीय र प्रदेश सरकार बनाउने अनि कालो दिवस भन्ने ? यो आवश्यकता र औचित्यपूर्ण छैन ।’
उपसभापति निधिले संविधान दिवसका दिन बुधवार तराइवासीले कालो दिवस मनाए भन्नु गलत भएको दाबी गरे । ‘मधेसीले कालो दिवस मनाएका छैनन् । केही दलले मात्रै कालो दिवस भनेका हुन्’ निधि भन्छन्, ‘यसअघि कांग्रेसको नेतृत्वमा समेत संविधान दिवस मनाइएको थियो । हामीलाई थाहा छ, अहिले पनि मधेसी जनताले संविधानको विरोध गरेका छैनन् ।’
संविधानमा आवश्यक संशोधन गर भन्नुलाई विरोधका रूपमा लिएको भन्न नहुने उनको भनाइ छ ।