काठमाडौं, असोज ३: संविधान दिवसको अवसरमा काठमाडौँको टुँडिखेलमा आयोजित विशेष कार्यक्रममै नेकपाको संसदीय दलकी सचेतक शान्ता चौधरी बेहोस भएकी छन्।
संविधान जारी भएको तीन वर्ष पुरा भएको अवसरमा अवसरमा आयोजित संविधान दिवस कार्यक्रममा सहभागी हुन टुँडिखेल गएकी नेकपा नेत्री तथा सांसद चौधरी बेहोस भएर ढलेकी हुन्।
चर्को घाम लागेकाले गर्मीका कारण सांसद चौधरी ढलेको हुन सक्ने अनुमान छ। गृह मन्त्रालयले आयोजना गरेको कार्यक्रममै सांसद बेहोस हुँदा पनि मेडिकल टिम तत्काल पुग्न सकेन। यस्तै सेनाको एम्बुलेन्स पनि ढिलो गरेर आएको थियो।
सेनाको एम्बुलेन्समा आएका डाक्टरले शान्ताको जाँच गरी औषधि दिए। त्यसपछि उनलाई कार्यक्रम स्थलमै आराम गराइएको छ। अस्पताल भने लगिएको छैन । सांसद चौधरीको अवस्था सुधार हुँदै गएको र अस्पताल लैजानु नपर्ने देखिएको डाक्टरले बताए ।