सरकारी कोषबाटै संविधानको विरोध !

| 2018 Sep 18 | 06:10 am 2305

काठमाडौं- संविधानमा अझै असन्तुष्ट रहेका तर तीनै तहमा निर्वाचनमार्फत जनप्रतिनिधि भएका मधेसी दलका नेता कार्यकर्ताले सरकारी कोषबाटै ३ असोजमा संविधान दिवसको विरोध गर्ने भएका छन्।

केन्द्र सरकारले राष्ट्रिय बिदा दिएर संविधान दिवसको खुसियाली मनाउने तयारी गरिरहेका बेला प्रदेश २ सरकार र संघीय समाजवादी फोरम तथा राष्ट्रिय जनता पार्टीले ३ असोजलाई कालो दिवसका रूपमा मनाउन लागेका हुन् । त्यसका लागि दुवै दलका जनप्रतिनिधिले सरकारी कोषबाटै विरोधका कार्यक्रम सम्पन्न गर्नुपर्ने बाध्यता रहेको बताएका छन्।

संघीय सरकारमा उपप्रधानमन्त्रीसहित स्वास्थ्यमन्त्री, प्रदेश २ मा मुख्यमन्त्रीसहित सरकारको नेतृत्व गरिरहेको संघीय समाजवादी फोरम नेपाल र संघीय सरकारलाई समर्थन गरेको तर प्रदेश २ सरकारमा सहभागी भएको राष्ट्रिय जनता पार्टी नेपालले कालो दिवस मनाउने तयारी गरेको हो । आन्तरिक रूपमा विरोधमा चाहिने सबै सामान र कार्यकर्ता ढुवानी, खाजा खर्च सरकारी कोषबाटै गर्नका लागि निर्देशन भएको राजपाका एक नेताले बताए ।

लालबाबु राउत प्रदेश २ सरकारको मुख्यमन्त्री छन् । सरकारमा महत्‍वपूर्ण मन्त्रालयसहित राजपा नेपाल सहभागी छ ।

सरकार बने पनि संविधानले अपहेलना गरेको मुख्यमन्त्री राउतले बताउँदै आएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अघिल्लोपटकको राजकीय भ्रमणका क्रममा सार्वजनिक मञ्चबाट नै राउतले संविधान मधेसविरोधी भएको टिप्पणी गर्दा आलोचना खेपेका थिए ।

पार्टीले गर्ने महŒवपूर्ण कार्यक्रममा लाग्ने खर्च सरकारमा सहभागी मन्त्रीसहित स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले नै सरकारी कोषबाट मिलाउनुपर्ने भएको दुखेसो मधेसवादी दलबाट निर्वाचित एक जनप्रतिनिधिले राजधानीलाई सुनाए । विरोध कार्यक्रममा नै सहभागी कसरी हुने भन्ने समस्यामा रहेका उनी कार्यक्रममा हुने खर्चसमेत बेहोर्न पार्टीले निर्देशन दिएपछि द्विविधामा छन् ।

‘पार्टीले कालो दिवस मनाउन र त्यसमा लाग्ने खर्चसमेत सरकारी कोषबाटै मिलाउन निर्देशन दिएको छ,’ उनले भने, ‘विरोध कार्यक्रममा कालो कपडा, टायर, मट्टीतेल, सलाई, बाँसको डन्ठासहित कार्यकर्तालाई भोज खुवाउनलगायतका खर्च बेहोर्न निर्देशन नै आएको छ, के गर्नु अब मिलाउनैपर्छ ।’

विरोध कार्यक्रममा लाग्ने कालो कपडासहित टायर र त्यसलाई बाल्न चाहिने सलाईसमेत सरकारी कोषबाटै मिलाउनुपर्ने भएको उनले बताए । जिल्लामा विरोध कार्यक्रमको तयारीका लागि आएका शीर्ष नेताको खर्चसमेत जुटाउनुपर्ने अर्को समस्या रहेको उनले बताए । ‘पार्टीको कोषमा पैसा नभए जहाँजहाँ सरकारी निकायमा जित छ, त्यहाँत्यहाँ खर्चको दायित्व निर्वाह गर्न निर्देशन छ,’ उनले थपे, ‘कसरी गर्ने भन्ने द्विविधा छ ।’

संविधान संशोधनको माग गर्दै संघर्षरत रहेको राजपा नेपाल र फोरम नेपालले विरोधका कार्यक्रम छुट्टाछुट्टै गर्दै शक्ति प्रदर्शनसमेत गर्ने भएका छन् । त्यसका लागि मधेसका गाउँगाउँमा आन्तरिक तयारी भइरहेको छ ।

तर, कतिपय नेताले भने सरकारी खर्चमा नभई पार्टीको खर्चमा विरोधका कार्यक्रम हुने दाबी गरेका छन् । राजपा नेपालका उपाध्यक्ष सत्यनारायण मण्डलले पार्टीको खर्चमै विरोधका कार्यक्रम हुने बताए । स्थानीय तहदेखि जिल्लासम्मका पार्टी कमिटीकै खर्च, चन्दा एवं सहयोगबाट सम्पूर्ण विरोधका कार्यक्रम हुन लागेको उनले बताए ।

यसैगरी, राजपा नेपालका महासचिव अजय गुप्ताले पार्टी, शुभेच्छुकको चन्दा सहयोग एवं आन्तरिक पार्टीको कोषबाट खर्च हुनेगरी विरोधका कार्यक्रम भव्य रूपमा हुने बताए । विरोधका कार्यक्रमको खर्च सरकारी कोषबाट नहुने दाबी गर्दै महासचिव गुप्ताले खर्चको व्यवस्था पार्टीले गर्ने बताए ।

फोरम नेपालका महासचिव रामसहाय यादवले पार्टीको कुनै विरोध कार्यक्रम नभएको बताउँदै कुनै खर्च नै नहुने दाबी गरेका छन् । पार्टीले गर्दै आएको सबै कार्यक्रमको खर्च पार्टीले नै बेहोर्दै आएको उनले बताए ।

फोरममा विवाद

फोरम नेपाल तराई मधेस प्रदेश कमिटीले ३ असोजलाई कालो दिवसकै रूपमा मनाउने निर्णय सार्वजनिक गर्दा केन्द्रीय कमिटीले भने विरोधका कार्यक्रम नभएको दाबी गरेको छ । सरकारमा सहभागी भएको फोरममा संविधान दिवसलाई मनाउने कि कालो दिवस मान्ने भन्ने विवाद चुलिएको छ ।

फोरम नेपाल केन्द्रीय कमिटीकी उपाध्यक्ष एवं तराई मधेस प्रदेश कमिटीकी अध्यक्ष रेणु यादवले आइतबार एक विज्ञप्ति जारी गर्दै विरोधका कार्यक्रम सार्वजनिक गरिन् । तर, सोमबार फोरम नेपालका उपमहासचिव एवं केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले पार्टीका तर्फबाट ३ असोजका लागि कुनै विरोधका कार्यक्रम नभएको जनाएका छन् ।
दुई नेताले जारी गरेको छुट्टाछुट्टै विज्ञप्तिले फोरम नेपालमा तीव्र असन्तुष्टि बढेको छ । तर, यादवले पार्टीको आधिकारिक निर्णयबाटै विरोधका कार्यक्रम भइरहेकाले स्थगित नभई भव्य रूपमा मनाउने तयारी भइरहेको बताइन् ।

फोरम नेपालको तराई मधेस प्रदेश कमिटीले विरोधका कार्यक्रम सार्वजनिक गर्दै त्यसलाई भव्य रूपमा सम्पन्न गर्न पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधि, कार्यकर्ता एवं शुभचिन्तकलाई आग्रहसमेत गरिएको छ ।

यादवले जारी गरेको विज्ञप्तिमा त्यस दिन हातमा कालोपट्टी बाँध्ने, सार्वजनिक स्थानमा कालो झन्डा राख्ने निर्णय गरेको छ ।

राजपा नेपालले ३ असोजमा सबै जिल्लामा दिउँसो विरोध प्रदर्शनका साथै विरोधसभा गर्ने, सोही दिन साँझ ७ देखि सवा ७ बजेसम्म ब्ल्याकआउट (बत्ती निभाउने) लगायतका विरोध कार्यक्रम गर्ने भएको छ । यसका साथै राजपाले जिल्ला कमिटीलाई विशेष निर्देशन दिँदै त्यसको तयारीमा जुट्न सर्कुलरसमेत जारी गरिसकेको छ । जिल्लाले विरोधका थप कार्यक्रम आफैं तय गरेर कार्यान्वयन गर्न सक्ने राजपा नेपालका महासचिव अजय गुप्ताले बताए।

जिल्लामा हुने विरोध कार्यक्रमका तयारी, विरोध प्रदर्शन तथा विरोधसभालाई सम्बोधनका लागि अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर बारा र पर्सा पुगेका छन् । अध्यक्षमण्डलका सदस्यद्वय राजेन्द्र महतो र अनिलकुमार झा बाँके र बर्दिया तथा कैलाली र कञ्चनपुरको आन्तरिक तयारीमा जुटेका छन्।

यसैगरी, अध्यक्षमण्डलका सदस्य महेन्द्रराय यादव नवलपरासी, रूपन्देही र कपिलवस्तुमा, अर्का नेता शरतसिंह भण्डारी झापामा, नेता राजकिशोर यादव मोरङ र सुनसरीमा पुगेर कार्यक्रमलाई भव्य बनाउन बैठकमा छन्।

राजपा नेपाल अध्यक्षमण्डलको बैठकले प्रदेश २ का मन्त्रीलाई पनि जिल्लामा परिचालन गर्ने निर्णय गरेर त्यसको तयारीमा खटाइसकेको छ । भौतिक पूर्वाधार तथा विकासमन्त्री जितेन्द्र सोनल सप्तरी, उद्योग, पर्यटन, वन, पर्यावरण तथा संस्कृतिमन्त्री रामनरेश राय सिरहा, सामाजिक विकासमन्त्री नवलकिशोर साह धनुषा, भौतिक पूर्वाधार विकास राज्यमन्त्री डा. डिम्पल झा महोत्तरी, सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा सर्लाही र उद्योग, पर्यटन, वन, पर्यावरण तथा संस्कृति राज्यमन्त्री सुरेश मण्डललाई रौतहटमा हुने विरोध कार्यक्रमलाई तयारी एवं सम्बोधनका लागि खटाइसकेको छ। राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.