काठमाडौं, असोज १: आइतबार साँझ बसेको मन्त्रीपरिषद बैठकले नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा झापाका मदन खरेललाई नियुक्त गर्ने निर्णय गरेको छ।
शुक्रबार मात्रै मन्त्रीपरिषदले पर्यटन मन्त्री रवीन्द्र अधिकारीको प्रस्तावमा नेपाल वायु सेवा निगमको सदस्यमा खरेललाई नियुक्त गरेको थियो। खरेललाई कार्यकारी अध्यक्ष बनाउने योजनाअनुसार सदस्यमा नियुक्त गरिएको थियो।
निगमको संचालक समितिमा अध्यक्षसहित ७ जना सदस्य रहने व्यवस्था छ। खरेल अहिलेका महाप्रबन्धक सुगतरत्न कशांकारअघि निगममा खुला प्रतिष्प्रर्धाबाट महाप्रबन्धक भएका थिए। तर कार्यकाल पूरा नगरी निगमबाट बाहिरिएपछि सरकारले कशांकारलाई महाप्रबन्धक नियुक्त गरेको थियो।
अझै ८ महिना कार्यकाल बाँकी रहेका कशांकारले आफु पूरै कार्यकाल सक्रिय रहने बताएका छन्।
मुलुकी फौजदारी अपराध संहिताको अनुसूची हेरफेर गरि सबै प्रकारका ठगी मुद्दाहरूको वादि पक्ष नेपाल सरकार रहने गरि संशोधन गर्ने निर्णय पनि सरकारले गरेको छ।
बैठकले २०७५ मा एकलाख टन मात्र चिनी आयात गर्न पाइने गरी सरकारले कोटा निर्धारण गर्ने निर्णय गरेको छ। उखु उत्पादकलाई प्रति क्वीन्टल ६५ रुपैयाँ २८ पैसा अनुदान दिने निर्णय पनि गरिएको छ।
बैठकले नेपालगन्जस्थित खजुरामा रहेको कपास विकास समितिको नाम परिवर्तन गरि राष्ट्रिय कपास विकास समिति बनाउने निर्णय गरेको छ।
बैठकले संविधान दिवसका लागि पदक तथा विभुषणको निर्णय पनि गरेको छ। नेपालको संविधानको धारा २७७ अनुसार राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने विभिन्न व्यक्तित्वहरूलाई विभुषण समितिले सिफारिस गरे बमोजिम विभुषणका लागि राष्ट्रपति समक्ष पेश गर्ने निर्णय भएको छ।