कोटेश्वर घुसकाण्डमा लामा तानिएपछि एलिजाले सम्हालिन ‘कमाण्ड’

रिपोर्ट नेपाल | 2018 Sep 16 | 11:34 am 5602

काठमाडौं, भदौ ३१ : काठमाडौंको कोटेश्वर र काँडाघारी प्रहरी प्रभागमा शनिबार घटेको घुसकाण्डमा दुवै प्रभागका इन्स्पेक्टर तानिएका छन्।

प्रहरी मुख्यालयले महानगरीय प्रहरी प्रभाग कोटेश्वरका प्रमुख इन्स्पेक्टर राजु लामालाई महानगरीय प्रहरी पहरा गण सामाखुशीमा तानेपछि उनको ठाउँमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा कार्यरत इन्स्पेक्टर एलिजा गिरीलाई खटाएको छ।

इन्स्पेक्टर गिरीले आइतबार बिहानदेखि कमाण्ड सम्हालेसकेकी छन्। इञ्चार्जको रुपमा यो नै गिरीको पहिलो पोस्टिङ हो। यसअघि महानगरीय प्रहरी वृत्त लैनचौर सोह्रखुट्टेमा केही महिना उनी कार्यरत थिइन् । आपराधिक गिरोहको अखडा मानिने कोटेश्वर क्षेत्रको पुलिसिङमा ठूलो चुनौती छ ।

अख्तियारले शनिवार कोटेश्वरको मुनिभैरव चोकनजिकै रहेको लुम्बिनी तन्दुरी भोजनालयबाट लामाका भान्से प्रहरी जवान मुकेश पटेललाई ५ हजारसहित पक्राउ गरेको थियो । इञ्चार्जको भान्से नै घूसकाण्डमा पक्राउ परेपछि लामाको पनि संलग्नता हुने आशंकामा सरुवा गरिएको हो ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले उक्त प्रकरण सार्वजनिक भएलगत्तै शनिवार राति नै दुवै प्रभागका प्रहरी अधिकारीहरु फेर्न निर्देशन दिएका हुन्।

त्यसैगरी महानगरीय प्रहरी प्रभाग काँडाघारी इन्स्पेक्टर हरि ओझा पनि तानिएका छन् । उनको स्थानमा इन्स्पेक्टर सुधीर राईले जिम्मेवारी दिइएको छ। महानगरीय प्रहरी कार्यालय रानीपोखरीले दुवै प्रभागमा कार्यरत सबै प्रहरी परिवर्तन गर्ने तयारी गरेको स्रोतले बताएको छ ।

शनिबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घूस लिएको आरोपमा ९ जना प्रहरीलाई नियन्त्रणमा लिएको थियो । अख्तियारको टोलीले शनिबार साँझ काठमाडौंको काँडाघारी र कोटेश्वरमा स्टिङ अप्रेशन गरेर उनीहरुलाई पक्राउ गरेको हो ।

घूससहित पक्राउ पर्नेमा महानगरीय प्रहरी प्रभाग काँडाघारीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) गोपाल श्रेष्ठ र महानगरीय प्रहरी वृत्त ठिमीमा कार्यरत सुवास ढुङ्गाना छन् । त्यस्तै, प्रहरी हबल्दारतर्फ दीपक भारती, उमेश यादव, अमन चौधरी र प्रहरी जवानतर्फ रत्न रिजाल, मानसिंह रोका, दीपेन्द्र कुँवर र मुकेश पट्टेल छन् । उनीहरुले १ लाख घुस लिएको अख्तियारले बताएको छ।

जसमा असई सुवासले ४५ हजार र अर्का असई गोपालले ३० हजार र हबलदार र प्रहरी जवानले ५/५ हजार घुस लिएको अख्तियारले जनाएको छ । उनीहरुले बालुवा खानी तथा डिपोबाट घुस लिएको अख्तियारको भनाइ छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.