संविधान दिवसको विरोध सभाका लागि मन्त्री नै खटाइए

रिपोर्ट नेपाल | 2018 Sep 16 | 06:41 am 1779

जनकपुर, भदौ ३१: प्रदेश २ सरकारका मन्त्री नै संविधान दिवसमा हुने विरोध सभामा खटिने भएका छन्। संविधानको विरोधका लागि राजपाले सभा गर्न आफ्ना मन्त्री खटाएको छ। राजपाले संविधान संशोधनको मागलाई लिएर ३ असोजमा बृहत् विरोधका कार्यक्रम गर्ने निर्णय गरेसँगै त्यसको नेतृत्वका लागि नेता परिचालन गरेको हो।

राजपाले भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनाललाई सप्तरी खटाएको छ । त्यस्तै, उद्योग, पर्यटन, वन तथा वातावारणमन्त्री रामनरेश रायलाई सिरहा र सामाजिक विकासमन्त्री नवलकिशोर साहलाई धनुषा खटाएको छ।

राज्यमन्त्री डिम्पल झालाई महोत्तरी र सुरेश मण्डललाई रौतहट खटाएको छ। मधेस अन्दोलनमा असई थमन विकको हत्या अभियोग खेपिरहेका राज्यमन्त्री अभिराम शर्मालाई सर्लाही खटाइएको छ।

राजपाका शीर्ष नेता पनि विरोधसभामा खटिने भएका छन्। अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरलाई बारा र पर्साको जिम्मेवारी दिइएको छ। त्यस्तै, अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोलाई बाँके र बर्दिया, महेन्द्र राय यादवलाई नवलपरासी, रुपन्देही र कपिलवस्तु खटाइएको छ । शरत्सिंह भण्डारीलाई झापा, राजकिशोर यादवलाई मोरंग र सुनसरी तथा अनिलकुमार झालाई कन्चनपुर र कैलालीमा हुने विरोध कार्यक्रमको जिम्मा दिइएको छ।

राजपाले स्थानीयस्तरमा राजपाबाट निर्वाचित जनप्रतिनिधिलाई खटाएको छ। प्रचार गर्ने र जनसहभागिता गराउने जिम्मा उनीहरूलाई दिइएको धनुषाका एक मेयरले बताए।

सरकारमा बसेरै कालो दिन मनाउने तयारी

संविधान दिवसका दिन ३ असोजमा प्रदेश सरकारले वृक्षरोपणको तयारी गरेको छ। प्रदेश मन्त्रिपरिषद्को २८ भदौमा बसेको बैठकले वृक्षरोपणलगायत कार्यक्रम बनाएको हो । तर, सत्तामा सहभागी दल राजपाले भने कालो दिवस मनाउने तयारी गरेको छ।

सरकार र सडकबाट संघर्ष : मन्त्री यादव

प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिलामन्त्री विजय यादवले पार्टीको निर्देशनअनुसार आफूहरूले विरोध दिवस नै मनाउने बताए। वीरगन्जमा सम्पन्न दोस्रो महाधिवेशनबाट राजपाले सडक, सदन र सरकार तीनै स्थानबाट संघर्ष गर्ने नीति लिएकाले आफूहरू पनि विरोध सभामा सहभागी हुने बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.