तीनै तहका सरकार एकै सोचकासाथ अघि बढ्नुपर्छः मन्त्री पोखरेल

रिपोर्ट नेपाल | 2018 Sep 15 | 03:03 pm 1515

काठमाडौँ, भदौ ३०: उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले विकास र समृद्धिका लागि तीनै तहका सरकार एउटै सोच र चिन्तनका साथ अघि बढ्नु पर्ने बताएका छन् । मन्त्री पोखरेलले उक्त कुरा भीमसेनगोलास्थित मोर्डन कन्या मल्टिपल कलेजको १२ वार्षिकोत्सव समारोहमा बताएका हुन् ।

ठूलो राजनीतिक परिवर्तनपछि गठन भएका सरकार विकास र समृद्धिका लागि एकसाथ हिँड्नु पर्नेमा कता कता अलमलिएको जस्तो देखिएको मन्त्री पोखरेलको भनाई रहेको थियो ।

संविधानमा लेखिएका विषयलाई कानून बनाएर सम्बोधन गर्न सरकार लागिपरेको कुरा पनि उनले बताए । मुलुक असहजताबाट अगाडी बढेकोले सहजतातर्फ लैजान तीनै तहका सरकारले होस्टेमा हैसे मिलाएर काम गर्नुपर्ने कुरामा मन्त्री पोखरेलको जोड रहेको थियो ।

शिक्षालाई सर्टीफिकेट प्राप्त गर्ने माध्यम मात्र नबनाएर प्राविधिक शिक्षामा जोड दिनुपर्ने पोखरेलको भनाई रहेको थियो । सरकारले व्यावसायिक र प्राविधिक शिक्षामा जोड दिने ढङ्गबाट वर्तमान शिक्षा नीतिलाई परिमार्जन गर्न तयारी गरिरहेको बताउँदै उनले दुरदराजबाट काठमाडौं आएका छात्रालाई सस्तो शुल्क लिई नारी शिक्षाको विकासमा मोर्डन कलेजले विशिष्ठ योगदान दिँदै आएको पोखरेलको भनाई रहेको थियो ।

संस्कृतिविद् सत्यमोहन जोशीले नारी शिक्षालाई सबैले प्रोत्साहन र प्रेरित गर्न आवश्यक रहेको धारणा राखेका थिए। सञ्चालक समितिका अध्यक्ष प्राडा रामप्रसाद दाहालले शिक्षासेवीको प्रेरणाबाट मुलुकको नारी शिक्षामा योगदान दिन सकियोस् भन्ने उद्देश्यले अन्यन्तै न्यून शुल्कमा छात्रालाई समय सुहाउँदो शिक्षा प्रदान गर्दै आएको जानकारी गराएका थिए ।

कार्यक्रममा नारी शिक्षाको विकासका लागि पुर्याएको विशिष्ट योगदानको कदर गर्दै कलेजले उपप्रधानमन्त्री पोखरेल र शिक्षासेवी मीरा ध्वजूलाई कदरपत्र सहित सम्मान गरिएको थियो ।

जेहन्दार छात्रा शर्मिला थापालाई रु १० हजार राशिको स्व वेदमाया दाहाल छात्रवृत्ति प्रदान गरियो भने रु १०÷१० हजार राशिका छात्रवृत्ति सुष्मा पहाडी र सिर्जना कुमाललाई दिइएको थियो ।

समारोहमा शिक्षासेवी रमेशमोहन भट्टराई र राकेश श्रीवास्तवले छात्रा आस्था राई र सोनु गुरुङलाई पढाइका लागि वार्षिक रुपमा लागेको खर्चको रकम उपलब्ध गराएका थिए ।

उपप्रधानमन्त्री पोखरेल र श्रीमती ध्वजूले रामकुमारी–मायादेवी अक्षय कोष र अञ्जु बस्नेत कार्कीले विमल–चन्द्र अक्षय कोष पुरस्कारका लागि दुई÷दुई लाख रकम कलेजलाई उपलब्ध गराएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.