काष्ठमण्डपको पहिलो तला आगामी असार सम्ममा निर्माण गरिने

| 2018 Sep 15 | 01:49 pm 2141

काठमाडौँ, भदौ ३०:  २०७२ को बिनाशकारी भूकम्पले क्षत विक्षत बनाएको ऐतिहासिक काष्ठमण्डपको पहिलो तला आगामी असार मसान्तसम्ममा पुनःनिर्माण गरिने भएको छ ।

ऐतिहासिक काष्ठमण्डप पुनःनिर्माण निर्देशक समितिको हिजो शुक्रबार बसेको बैठकले काष्ठमण्डपका लागि हालसम्म भएका कामको छलफल र समीक्षा गरी अब चालु आर्थिक वर्षको अन्तिमसम्ममा पहिलो तला निर्माण गरिसक्ने योजना बनाइ कामको थालनी गर्ने बैठकले निर्णय गरेको छ ।

निर्माण निर्देशक समितिका संयोजक एवं प्रदेश नं ३ प्रदेशसभा सदस्य राजेश शाक्यको अध्यक्षतामा बसेको बैठकमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले काष्ठमण्डपको सबै काम योजना अनुसार नै अघि बढाउन निर्देशन दिएका छन्।

निर्माणमा गुणस्तर कायम गर्नका लागि समय समयमा निर्माण सामग्रीलाई प्रयोगशालामा परीक्षण गराउन पनि ज्ञवालीले सुझाव दिए । समिति संयोजक शाक्यले निर्माणलाई अघि बढाउन हनुमानढोकास्थित प्रहरी कार्यालय भएको ठाँउमा काठको एउटा वर्कशप सञ्चालन भएको र इन्द्रजात्रा सकिए लगत्तै अर्को वर्कशप पनि संञ्चालन गरी काम गरिने बताएका छन् ।

काष्ठमण्डप पुनःनिर्माणमा प्रयोग गरिने सामग्री परीक्षण गरिएको र आगामी दिनमा पनि संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृति सङ्गठन (युनेस्को) र पुरातत्व विभागले तोकेको मापदण्डअनुरुप परीक्षण गरिने संयोजक शाक्यले बताए ।

उक्त बैठकमा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाललगायत सरोकार भएका निकायका अधिकारीहरु पनि सहभागी भएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.