गुल्मी , भदाै ३० : गुल्मीमा बढिघाट खोला ६ घण्टासम्म थुनिएकाे छ । खोला थुनिँदा हजारौं घर जोखिममा परेका छन् । बागलुङकाे भिमगिठ्ठे नजिकै पहिरो जाँदा गुल्मीका हजारौ बस्ती जोखिममा परेका हुन् । ढोरपाटन नगरपालिका र बढिघाट गाउँपालिकाको सिमानामा पर्ने तुरतरे देउरालीमा पहिरो खसेको छ।
पहिरोका कारण त्यस क्षेत्रकै सबैभन्दा ठुलो खोला ६ घण्टादेखि अबरुद्ध भएकाे छ । अहिले पानी ओभरफ्लो भएर बग्न थालेकाे छ ।खोला थुनिएपछि बागलुङका खार र खर्बाङ्ग बजार तथा गुल्मीको मुसिकोट नगरपालिकाका वामी, भुवाचिदी, आँपचौर, बडागाउँको ग्वादीकाचौर, चन्द्रकोट गाउँपालिकाको मजुवा बजार, सत्यवति गाउँपालिकाको जोहाङ्ग खैरेनी, चोरकाटे बजार र रुद्रवेणी बजारका घरहरु उच्च जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेले बताए ।
उनले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोलीले जोखिममा रहेका खोला नजिकका बस्तीहरुमा माइकिङ्ग गरिरहेको बताए । प्रमुख जिल्ला अधिकारी पौडेलले सवैलाई सुरक्षित भएर बस्न आग्रह गरेका छन् ।
साथै जिल्ला प्रहरी प्रमुख दिपक बस्नेतले खोला किनारका मानिसलाई सुरक्षित स्थानमा सार्ने काम भैरहेको बताए । बाग्लुङ्गको बढिघाट गाउँपालिका ७ का वडाध्यक्ष कृष्ण गुरुङ्गका अनुसार मलकट्ठीबाङ्गका करिव एक दर्जन घर डुवानमा परेका छन् । उनले खोला थुनिएपछि त्यसपछि तलको भागमा पानी सुख्खा रहेको गुरुङ्गले बताए ।