काठमाडौं, भदौ २९: वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगीले साधारण सदस्यसमेत नरहने गरी संघीय समाजवादी फोरमबाट राजीनामा दिएका छन्। महानगरको कामकारबाहीमा अनावश्यक दबाव दिइएको भन्दै उनले पार्टीबाट राजीनामा दिएका हुन्।
सरावगी संघीय समाजवादी फोरमबाट वीरगन्जको मेयरमा निर्वाचित भएका थिए। पार्टीभित्रको कार्यशैलीमा असन्तुष्टि बढेकाले आफूले पार्टीबाट अलग बस्ने निर्णय गरेको उनले बताएका छन्। ‘पार्टीको काम गर्ने शैली र पद्धति मन परेन,’ उनले भने, ‘त्यही भएर मैले संगठन र पार्टीको कुनै पनि जिम्मेवारीमा नबस्ने जानकारी गराइसकेको छु।’
प्रदेश २ को एक मात्र महानगरपालिका वीरगञ्जका मेयर सरावगीले विरगञ्ज महानगर भए पनि यहाँको विकासका लागि पार्टी नेतृत्वले कुनै योजना बनाउन नसकेको र मधेश आन्दोलनका लागि प्रयोग मात्र गरेको उनको आरोप छ।
सरावगीले भने, ‘जनताको अपेक्षा धेरै छ । तर, संघीय सरकार, प्रदेश सरकार र पार्टीले वीरगञ्जको विकासका लागि कुनै योजना बनाएको मेरो जानकारीमा छैन।’ संघीय सरकारमा फोरमले दुइटा मन्त्रालय सम्हालेको छ।
मेयर सरावगीले ह्वाट्सएपमार्फत पार्टी नेतृत्वलाई राजीनामा पत्र बुझाएका छन्। अब नेतृत्वलाई भेटेर पनि पार्टीबाट राजीनामा दिएको पत्र बुझाउने उनको तयारी छ। तर, फोरमका नेताहरुले भने मेयर सरावगीले एक वर्षमा पनि प्रभावकारी रुपमा काम गर्न नसकेको भन्दै पार्टीभित्र आलोचना मात्र भएको टिप्पणी गरेका छन्।
बुधबार बसेको वीरगन्ज नगर कमिटीको बैठकले ५ बुँदे ध्यानाकर्षण सरावगीलाई गराउने निर्णय पार्टीले गरेको थियो। नगर समितिले ध्यानाकर्षणपत्र बुझाउन खोज्दा सरावगीले समय नभएको भन्दै बुझ्न नमानेपछि आन्तरिक विवाद चुलिएको थियो।
प्रदेशमा पार्टीकै नेतृत्वमा सरकार छ। तर, वीरगञ्जलाई कसैले ध्यान दिएनन्। यस्तो अवस्थामा पार्टीमा किन बस्नु?’ उनले भने। पार्टी परित्याग गरेपछि मेयर पद धरापमा त पर्ने होइन भन्ने जिज्ञासामा सरावगीले कानूनमा त्यस्तो कुनै व्यवस्था नरहेको बताए।