विरोधपछि कर सकंलन स्थगित

रिपोर्ट नेपाल | 2018 Sep 14 | 08:30 am 1916

तेह्रथुम, भदौ २९: तेह्रथुमको म्याङलुङ नगरपालिकाले ढुङ्गा, गिटी, बालुवामा लगाउँदै आएको कर र शुक्रबारे हटियामा उठाउँदै आएको कर तत्कालका लागि बन्द गरेको छ । उक्त कर अव्यावहारिक भएको भन्दै नगरवासीबाट विरोध भएपछि नगरपालिकाले तत्काललाई कर सङ्कलन नगर्ने भएको हो ।

यस अघि ठेक्कामार्फत नगरपालिकाले कर सङ्कलन गर्दै आएकामा ठेकेदारले आफूखुशी कर लिएको भन्दै नगरबासीले बिरोध गरेकाले कार्यपालिकाको बिहीबार बसेको २२औँ बैठकले उक्त कर हाल सङ्कलन नगर्ने निर्णय गरेको नगर प्रमुख सञ्जयकुमार तुम्बाहाम्फेले बताए।

तत्काललाई करसम्बन्धी ठेक्कासमेत तोडेर नगरवासीबाट प्राप्त सुझावका आधारमा कर सङ्कलनलाई थप वैज्ञानिक र व्यावहारिक बनाउन अध्ययन थालिएको जानकारी उनले दिए। यसअघि नगरपालिकाले शुक्रबारे हटियामा डोकामा साग र निगुरो बेच्नेसँग समेत कर उठाएकामा आलोचना भएको थियो ।

प्रसूति हुनेहरूलाई एम्बुलेन्स खर्च

उक्त नगरपालिकाले जिल्ला अस्पतालमा प्रसूति हुन आउने नगर क्षेत्रका महिलालाई एम्बुलेन्स खर्च उपलब्ध गराउने भएको छ । अस्पतालमा प्रसूति हुन जाँदा आउँदा एम्बुलेन्सका लागि लाग्ने खर्च नगरपालिकाले बिलअनुसार भुक्तानी दिने निर्णय गरेको उपप्रमुख पार्वतीसानु डाँगीले बताए।

सरकारले स्वास्थ्य संस्थामा गएर सुरक्षित प्रसूति सेवा लिने महिलालाई यातायात खर्चबापत रु दुई हजार उपलब्ध गराउँदै आएको छ । नगर क्षेत्रका महिलाको समस्यालाई मध्यनजर गर्दै सुरक्षित प्रसूति सेवालाई थप प्रभावकारी बनाउन यो कार्यक्रमले सहयोग पुर्‍याउने उपप्रमुख डाँगीले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.