चिनियाँ नाकामा सडक अवरुद्ध, सयौं मालबाहक कन्टेनर अलपत्र

| 2018 Sep 13 | 09:48 am 2053

काठमाडौं, भदौ २८: ढुंगासहित पहिरो खसेपछि रसुवागढी भएर भित्रिने मालवाहक सवारीका साधन बाटैमा रोकिएका छन् । रसुवाको धुन्चे बजार देखि ३० मीटर नजिकको खोपङ्गभीर भन्ने स्थानमा पहिरो खसेपछि करिब मालकवाहक गाडी बीच बाटोमा नै रोकिएका छन् ।

रसुवाका निमित्त प्रहरी प्रमुख इन्सपेक्टर ओमप्रकाश वाग्लेले बाटोअवरुद्ध भएर मोटरसाईकल समेत ओहोर-दोहोर गर्ने अवस्था नरहेको बताए ।

आईतबार पहिरो खसेपछि अवरुद्ध भएको सडक अझै सुचारु हुन नसकेको उनले बताए । खोपङ्ग भीरमा पहिरो खसेपछि धेरै गाडीहरु रसुवागढी नाकातर्फ रोकिएका छन् । चीनबाट फर्किएका धेरै कन्टेनरमा स्याउ र मोबाइल सेवा प्रदायक कम्पनी एनसेलका सामानहरु भएको निमित्त प्रहरी प्रमुख वाग्लेले जानकारी दिए ।

चीनबाट दशैंका लागि तयारी कपडा, जुत्ता, चप्पल, खाद्यान्न, बिद्युतीय उपकरण लगायतका सामाग्री लिन जान लागेका करिब डेढ सय कन्टेनर र ट्रकहरु पनि अगाडि जान सकेका छैनन् ।

टिमुरेबाट स्याफ्रुसम्ममात्रै करिब ५० ट्रक र कन्टेनर रोकिएको सीमा प्रहरी चौकी टिमुरेका इन्सपेक्टर दिलिप क्षेत्रीले अनलाइनखबरलाई जानकारी दिए । उनका अनुसार धुन्चेमा करिब ४० ट्रक र कन्टेनर अलपत्र परेका छन् ।

चाडबाडका बेला पटक–पटक बाटो अवरुद्ध हुँदा बजारमा समेत अभाव सिर्जना हुन थालेको व्यवसायीको गुनासो छ । यसअघि पनि खोपाङ्गभीर भन्ने स्थानमा पहिरो खस्दा बाटो अवरुद्ध हुने गरेको थियो । गत भदौ १ गते धुञ्चे नजिक दुई ठाउँमा पहिरो जाँदा १५ दिन बाटो ठप्प भएको थियो ।

बाटो खुलाउने प्रयास भइरहेको रसुवा जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले भने, ‘चीनतर्फ जान लागेका र लिएर आएका करिब ३ सय कन्टेनर र ट्रक बाटैमा रोकिएका छन् । मंगलबारदेखि नै पहिरो पन्छाउने काम थालिए पनि ठूला ढुंगा हटाउन कठिनाइ भइरहेको छ ।’

सडक विभागसँग समन्वय गरेर बाटो खुलाउने प्रयास भइरहेको उनको भनाइ छ । पहिरो हटाउनका लागि दुई वटा स्काभेटर तथा एक एक वटा लोडर र जेसीभी प्रयोग भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.