काठमाडौं, भदौ २७ : निर्मला पन्तको हत्या छानबिन गर्न गठित सरकारी छानबिन टोलीबाट राजीनामा दिएका उपसचिव वीरेन्द्रबहादुर केसी छानबिन समितिमा फिर्ता भएका छन् । गृहमन्त्री रामबहादुर थापा, गृहसचिव प्रेमुकमार राई र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँगको छलफपछि उनी फिर्ता भएका हुन् ।
गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय छानबिन समीतिका सदस्य केसीले सोमबार सुरक्षाको कारण देखाउँदै राजीनामा दिएका थिए ।निर्मला पन्त हत्याको घटना छानबिन गर्न सरकारले गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा समिति गठन गरेको छ ।
केसीले छानबिन समितिमा रहेका बेला आफूले इमान्दारीपूर्वक काम गरेको भन्दै समितिको म्याद थपको विषयमा असहमति राख्दै जिम्मेवारीबाट अलग हुने प्रारम्भिक निर्णय गरेको बुधबार विज्ञप्तिमार्फत जनाएका छन् ।
विज्ञप्तिमा यस्तो छ
‘‘छानबिन समितिको म्याद थप लगायतका विषयमा मेरो विमती रही छानबिन समितिको जिमेवारीबाट अलग हुने प्रारम्भिक निर्णय गरेकोमा मिति २०७५/०५/२७ गते गृह मन्त्रालय, उच्च स्तरीय छानबिन समितिका संयोजकसहित भएको छलफलबाट घटनाको सन्दर्भमा मन्त्रालय र मेरो समेत वास्तविक दोषी पत्ता लगाई कारबाहीको दायरामा ल्याउने उद्देश्य नै रहेको एकमत भएकााले राष्ट्रसेवकको रुपमा मलाई प्राप्त अवसर तथा कार्य जिम्मेवारीबाट अलग रहे भन्दा थप भएको कार्य अवधिमा छानबिन कार्यलाई पुन संलग्न रही निष्पक्ष रुपमा छानबिन गरी योगदान गर्न सके निर्मला पन्तप्रति न्याय हुने ठहर गर्दै सरकारले सुम्पिएको महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्नु प्रत्येक राष्ट्रसेवकको अनिवार्य कर्तव्य भएको बोध गरी स्वेच्छापूर्वक आज मिति २०७५र०५र२७ गतेदेखि समितिमा यथावत रही छानबिन कार्यमा संलग्न रहने व्यहोरा जानकारी गराउँदछु ।’