काठमाडौं, भदौ २६ : अमेरिकी डलरको भाउले आकासिँदै नयाँ रेकर्ड कायम गरेको छ । डलरको भाउ मंगलबार एकै दिन १ रुपैयाँ १५ पैसाले महँगो भएको छ।
मुलुकको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले मंगलबारका लागि १ अमेरिकी डलरबराबर १ सय १६ रुपैयाँ २३ पैसा बिक्री दर र १ सय १५ रुपैयाँ ६३ पैसा खरिद दर तोकेको छ । सोमबार डलरको बिक्री दर १ सय १५ रुपैयाँ ८ पैसा पुगेको थियो ।
पछिल्ला केही दिनदेखि अमेरिकी डलरसँग भारतीय रुपैयाँ ९भारु० अवमूल्यन हुने क्रम जारी छ । यसको प्रत्यक्ष असर नेपाली रुपैयाँमा परेको छ । भारु १ सयबराबर नेपाली मुद्रा १ सय ६० रुपैयाँको स्थिर विनिमय दर रहेको छ । यो साढे तीन दशकदेखिको विनिमय दर हो । यस हिसाबले मंगलबार १ अमेरिकी डलरबराबर भारु ७२ रुपैयाँ ६४ पैसा रहेको छ ।
एक महिनाअघिसम्म प्रतिडलर १ सय १० रुपैयाँहाराहारी थियो । तर, एक्कासि डलरको भाउ ह्वात्तै बढ्न थालेयता कम आय हुनेदेखि बढी आय हुनेसम्मलाई असार पार्न थालेको छ । त्यसमाथि ठूला चाड दसैं र तिहार नजिकिएका बेला अमेरिकी डलरको भाउ महँगो हुँदा चाडबाड मनाउन पहिलाभन्दा महँगो पर्ने निश्चित छ ।