अपाङ्गता भएका वन्यजन्तुको उद्धार केन्द्र स्थापना

रिपोर्ट नेपाल | 2018 Sep 10 | 02:39 pm 2091

चितवन, भदाै २५ : चितवन राष्ट्रिय निकुञ्जले अपाङ्गता भएका तथा अशक्त वन्यजन्तुको संरक्षणका लागि उद्धार केन्द्र निर्माण गरिरहेको छ ।निकुञ्जको देवनगर रेञ्जपोष्टदेखि दुई सय मिटर दक्षिणमा रहेको वरण्डाभार क्षेत्रमा उद्धार केन्द्र निर्माण भइरहेको छ ।

राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालकाअनुसार १६ हेक्टर जमीनमा पर्खाल लगाएर त्यसभित्र अपाङ्ग तथा अशक्त वन्यजन्तुलाई राखिने बताएका छन् ।

गत आर्थिक वर्षदेखि उक्त केन्द्र निर्माण गर्न थालिएको हो ।अहिलेसम्ममा ४०० मिटर पर्खाल लगाउने काम सम्पन्न भएको अर्यालले बताए । गत वर्ष ५० लाखको बजेट उपलब्ध भएकोमा सोही बजेटबाट काम थालिएको निकुञ्जका सूचना अधिकारी अर्यालले जानकारी दिएका छन् ।

अब अझ थप बजेट माग गरी छिटो काम सम्पन्न गर्ने तयारीमा निकुञ्ज जुटेको छ र पूरै क्षेत्रमा पाँच फिट पर्खाल र त्यसमाथि पाँच फिट मेसजाली लगाइँदै सबै भाग घेरिएपछि त्यसभित्र खण्डखण्ड निर्माण गरेर जनावर राखिने अर्यालले बताएका छन् ।

बाघ र चितुवा जस्ता जनावरका लागि छानो हालिँदै छ, भने अन्य जनावरलाई खुल्ला आकाशमुनि राखेर संरक्षण गरिने छ र घाइते जनावरको उपचार गर्ने, अशक्त जनावरलाई खाना खुवाइने तथा ती सबै जनावरको पालनपोषण व्यवस्थित ढङ्गले गर्न केन्द्र स्थापना गर्न लागिएको बताए ।

अर्यालका अनुसार चालू आवमा अहिलेसम्म तीन बाघको उद्धार गरिएको छ । ठाउँको अभावमा उनीहरुलाई कसरामा खोरमा राख्ने गरिएको छ । नियमित दुर्लभ र अन्य साना जनावर घाइते हुने तथा बुढो भएर अशक्त भई सहारा दिनुपर्ने आएपछि मुख्य कार्यालय कसरा नजिकै केन्द्र स्थापना गर्न लागिएको अर्यालले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.