काठमाडौं, भदौ १०: सरकारले दुई वर्षमा देशलाई पूर्ण साक्षर बनाउने घोषणा गरेको छ । तर, यही घोषणा १० वर्षदेखि दोहोरिँदै आएको छ। आर्थिक वर्ष ०६५/६६ मा दुई वर्षमा निरक्षरता उन्मूलन गर्ने घोषणासहित राष्ट्रिय साक्षरता अभियान सञ्चालन गरिएको थियो, तर शिक्षा तथा मानवस्रोत विकास केन्द्रको तथ्यांकअनुसार ६ वर्षमाथिका साक्षर संख्या अहिले पनि ७८ प्रतिशत मात्र छ।
निरक्षरता उन्मूलन गर्ने घोषणा भएयता सात अर्ब १९ करोड रुपैयाँ विनियोजन भएको छ। ०६५/६६ मा एक अर्ब चार करोड रकम विनियोजन गरी अभियान सुरु गरिएको थियो । ०६६/६७ मा पनि त्यतिकै मात्रामा बजेट विनियोजन गरेर अभियान सञ्चालन ग-यो । तर, सामान्य सफलता पाए पनि निरक्षरता उन्मूलन हुन नसकेको खबर नयाँ पत्रिका दैनिकमा भवानीश्वर गौतमले लेखेका छन्।
विद्यालय नदेखी लाखौँ बालबालिका प्रौढ
नेपालमा विद्यालय उमेर समूहका लाखौँ बालबालिका विद्यालय नदेखी प्रौढ हुने गरेका छन्। शिक्षा मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार प्राथमिक तहमा अध्ययन गर्ने उमेर समूहका २.८ प्रतिशत अर्थात् तीन लाख १३ हजार बालबालिका विद्यालयबाहिर थिए। यो शैक्षिक सत्रमा भने दुईपटक भर्ना अभियान सञ्चालन गरी झन्डै साढे दुई लाख विद्यार्थी भर्ना गरिएको सरकारको दाबी छ। अझै झन्डै ७० हजारको हारहारीमा विद्यार्थी विद्यालय ल्याउन बाँकी छन्।
शिक्षा विकास तथा मानवस्रोत विकास केन्द्रका महानिर्देशक बाबुराम पौडेलले विगतमा विद्यालय उमेर समूहका बालबालिका निरक्षर प्रौढमा परिणत हुँदा निरक्षरता उन्मूलन हुन नसकेको बताए । ‘भर्ना अभियान चलाएका छौँ, सबै बालबालिका विद्यालय भर्ना भएपछि निरक्षरता उन्मूलन सहज हुन्छ,’ उनले भने । यस वर्ष सबैलाई विद्यालय भर्ना गर्ने प्रयास गर्ने र अर्को वर्ष केही बाँकी भएमा भर्ना गरेर निरक्षरता उन्मूलनको लक्ष्य पूरा गरिने उनको भनाइ छ ।
यसरी सम्भव छ साक्षर नेपाल : गिरिराजमणि पोखरेल, शिक्षामन्त्री
७७ मध्ये ४७ जिल्ला साक्षर घोषणा भइसकेका छन्। ०७६ साललाई साक्षर नेपाल वर्ष घोषणा गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजान्छु। साक्षर नेपाल घोषणाका लागि सहयोग गर्ने गरी यही शैक्षिक सत्रमा भर्ना अभियान चलायौँ। विद्यालयबाहिर रहेका तीन लाख १३ हजारमध्ये पहिलो चरणमा दुई लाख ५३ हजार बालबालिकालाई विद्यालयमा ल्यायौँ। बाँकी ५९ हजारलाई विद्यालय ल्याउन स्थानीय तहलाई घरधुरी सर्वेक्षण गर्न भनिएको छ।
सरकारले आफ्नो जनशक्ति र स्वयंसेवक परिचालन गर्छ। कक्षा ११–१२ पढेका विद्यार्थीलाई साक्षर नेपाल कार्यान्वयनमा जोड्दै छौँ। स्थानीयस्तरमा आमा समूह, महिला स्वयंसेविका छन् । उनीहरूलाई पनि परिचालन गर्न सक्छौँ।
अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन आउँदै छ। त्यो पनि साक्षरतासँग जोडिन्छ । सबै कुरा सधैँ स्वेच्छामा छाडेर हुँदैन, केही विषय बाध्यात्मक पनि हुनुपर्छ । अनिवार्य शिक्षा ऐनमा बाध्यात्मक पक्षलाई पनि जोडेर लैजान खोजेका छौँ।
मैले त २५ वर्षदेखि यही नारा सुन्दै आएको छु : प्रा.डा. विद्यानाथ कोइराला
विद्यानाथ कोइराला तत्कालीन शिक्षामन्त्री मोदनाथ प्रश्रितले ०५१ सालमै दुई वर्षमा निरक्षरता उन्मूलन गर्ने घोषणा गरेका थिए। अरू मन्त्रीले यही नारा दोहो-याउँदै आएका छन्।
तर, वर्तमान सरकारले गरेको घोषणा पूरा हुनेमा पनि शंका छ । सरकार गम्भीर हुन्थ्यो भने स्थानीय तहलाई परिचालन गर्थ्यो। तर, सरकारको यो नारामा स्थानीय तह नै सहमत छैनन् । अहिले ७८ प्रतिशत साक्षर भनिएको छ, त्यो तथ्यांक पनि ‘टेस्टेड’ होइन, ‘रिपोर्टेड’ हो। प्रतिवेदनमा लेखिएको तथ्यांकभन्दा वास्तविकता फरक हुन सक्छ।