भैरहवा- धुलो, धुवाँ, ध्वनिलगायत प्रदूषणले विश्वसम्पदा सूचीका क्षेत्र प्रदूषित क्षेत्रको सूचीमा पर्दै गएका छन्। लुम्बिनीलाई त्यसबाट बचाउन एउटा उपाय रचिएको छ, विद्युतीय सवारी साधनको प्रयोग।
विश्व सम्पदामा सूचीकृत लुम्बिनी क्षेत्रको बढदो प्रदूषण घटाउन यस्ता सवारी साधन प्रयोग हुने भएका हुन् । एक महिनाअघि चिनियाँ कम्पनीले दुईवटा विद्युतीय बस भैरहवा भन्सार कार्यालयमा ल्याइपुर्याएको छ। बाँकी आउने क्रममा छन्।
एसियाली विकास बैंक (एडीबी) को करिब ३० करोड रुपैयाँ अनुदानमा सोलार प्रविधिबाट चार्ज हुने पाँचवटा ठूला बस, ११ जिप/भ्यान सञ्चालन गरिने भएको हो। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण पूरा हुनासाथ पर्यटकका लागि प्रदूषणरहित विद्युतीय बस र भ्यान सञ्चालनको व्यवस्था गरिएको छ। तिनमा एयरकन्डिसन, वाइफाईलगायत सुविधा छन्।
यहाँको विमानस्थल हुँदै लुम्बिनी आउने स्वदेशी तथा विदेशी पाहुनाको लुम्बिनी भ्रमणका लागि यस्ता सवारीका साधन उपयोग गर्ने लुम्बिनी विकास कोषले जनायो।
कोषका योजना प्रमुख तथा कार्यवाहक सदस्यसचिव सरोज भट्टराईले लुम्बिनीलाई मुख्य स्टेसन मानेर आगामी फेब्रुअरी/मार्चबाट विद्युतीय सवारीका साधन सञ्चालन गर्ने गरी आवश्यक तयारीमा जुटेको बताए।
‘लुम्बिनीको वातावरणलाई सहयोग पुर्याउन मुलुकमै पहिलो पटक यस खालका यातायातका साधन सञ्चालन हुँदैछन्,’ भट्टराईले भने, ‘यी गाडी आयातसँगै सोलार प्रविधिबाट चार्जर स्टेसनको निर्माण पनि भइरहेको छ।’