बंगलादेशले खरिद गर्ने भयो माथिल्लो कर्णालीको बिजुली

| 2018 Sep 08 | 01:46 pm 1908

भारतीय कम्पनी ग्रान्ध्री माल्लिकार्जुन राव (जिएमआर) प्रवद्र्धक रहेको माथिल्लो कर्णालीको ५०० मेगावाट विद्युत् बङ्गलादेशले किन्ने भएको छ । बङ्गलादेशको मन्त्रिपरिषद्ले नौ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको विद्युत नेपालबाट खरिद गर्ने निर्णय केही दिनअघि नै लिएको बुझिएको छ ।

यतिबेला ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन बङ्गलादेशको भ्रमणमा रहेका छन् । मनत्री पुनलाई बंगलादेशका विद्युत्, ऊर्जा तथा खनिज राज्यमन्त्री नसरुल हमिदले उक्त आयोजनाको विद्युत् खरिद गर्ने निर्णय मन्त्रिपरिषद्ले गरिसकेको जानकारी गराएका हुन् ।

हिजो शुक्रबार ढाकास्थित नेपाली दूतावासले गरेको कार्यक्रममा मन्त्री पुनले विद्युत खरिद गर्ने निर्णय भइसकेको र अहिले दुई पक्षबीच खरिद दरलगायत अन्य प्राविधिक पक्षमा छलफल भइरहेको जानकारी दिए । जिएमआरले आयोजनाको विद्युत् भारतीय कम्पनी एनटिपिसी विद्युत् निगमलाई बिक्री गर्ने र उसले बङ्गलादेशमा बिक्री गर्न लागेको बताइएको छ । जिएमआरले माथिल्लो कर्णालीको विद्युत् बिक्रीका लागि बजार सुनिश्चित गर्न नसक्दा अहिलेसरम्म वित्तीय व्यवस्थापन गर्न सकिरहेको छैन ।

लगानी बोर्डले मााथिल्लो कर्णाली जलविद्युत् आयाजनको वित्तीय व्यवस्थापनका लागि दोस्रोपल्ट थपेको म्याद आगामी असोज २ गते सकिँदैछ । लगानी बोर्ड र जिएमआरबीच ३ असोज ०७१ मा भएको आयोजना विकास सम्झौता (पिडिए) अनुसार माथिल्लो कर्णालीका वित्तीय व्यवस्थापन दुई वर्षभित्र अर्थात् ३ असोज ०७३ मा गर्ने व्यवस्था थियो । तोकिएको समयमा लगानी जुटाउन नसकेपछि बोर्डले आयोजनाको म्याद थप्दै आएको छ । आयोजनाको अनुमानित लागत रु एक खर्ब ५० अर्ब (एक अर्ब ५० करोड अमेरिकी डलर) छ ।

सम्बद्ध विज्ञजनका अनुसार माथिल्लो कर्णालीबाट नेपालले १०८ मेगावाट (१२ प्रतिशत) ऊर्जा तथा २७ प्रतिशत स्वपूँजी (इक्विटी) प्राप्त गर्नेछ । वर्षभरिमा तीन महिना मात्र पूरा क्षमतामा चल्ने गरी नमूना तयार गरिएको उक्त आयोजना ‘निर्माण, स्वामित्वग्रहण, सञ्चालन र हस्तान्तरण (बुट)’ मोडलमा बन्न लागेको हो । आयोजना ३० वर्षपछि सरकारलाई चालू अवस्थामै हस्तान्तरण गरिने बताइएको छ ।

ऊर्जा मन्त्री पुनले बङ्गलादेशले सन् २०४० सम्ममा नेपालबाट नौ हजार मेगावाट विद्युत् खरिद गर्ने योजना बनाएको उल्लेख गर्दै दूधकोशी र माथिल्लो अरुणको करीब एक हजार ५०० मेगावाट विद्युत् खरिद गर्नका लागि दुई मुलुकबीच छलफल भइरहेकोे जानकारी दिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.