कञ्चनपुर पुगेका आईजीपी खनाल भन्छन्-‘दोषी एसपी होस् वा डिआइजी होस् कसैलाई छाडिने छैन’

| 2018 Sep 07 | 06:46 pm 3219

कञ्चनपुर, भदौ २२ : नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले कञ्चनपुरको भीमदत्त नगरपालिका २ की १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या घटनाका दोषी र अनुसन्धानमा लापरबाही गर्ने उम्किन नपाउने बताएका छन् । राष्ट्रिय मानवअधिकार आयोगले महेन्द्रनगरमा आयोजना गरेको ‘महिला हिंसा न्यूनीकरण, मानवअधिकारको संरक्षण एवं सुरक्षा नेपाल प्रहरीको जवाफदेहीता’ विषयक गोष्ठीमा बोल्दै  उक्त कुरा बताएका हुन् ।

कार्यक्रममा बोल्दै उनले दोषीलाई कुनै हालतमा पनि कानुनको दायरामा ल्याइछाड्ने र लापरबाही गर्नेको जागिरसमेत जान सक्ने बताए। ‘तत्काल दोषी देखेरै एकजनालाई निलम्बन गरिएको छ, अरू पनि दोषी देखिए निलम्बन मात्रै होइन जागिर नै जान सक्छ,’  महानिरीक्षक खनालले भने, ‘दोषी एसपी होस् वा डिआइजी होस् कसैलाई पनि छाडिने छैन।’

उनले सुरुको चरणमा निलम्बन गरिएको र आवश्यक परे जस्तोसुकै कारबाही समेत गर्न सकिने बताए। ‘तत्कालीन नालायक नेतृत्वले लज्जित बनाएको छ,’ उनले भने, ‘अपराधी जोसकै होस्, निस्फिक्रि हुनुस्, हदसम्मको कारबाही हुन्छ।’

अनुसन्धानमा लापरबाही

निर्मला पन्तको बलात्कारपछि हत्याको अनुसन्धान गर्न गठन गरेको उच्चस्तरीय छानबिन समितिले निर्मलाको हत्या प्रकरणमा प्रहरीको लापरबाही देखिएको निष्कर्ष निकालेको छ । शुक्रबार पत्रकार सम्मेलन गरी समितिले निर्मलाको हत्या प्रकरणमा प्रहरीले अनुसन्धानको मुख्य पाटोलाई छोडेर लापरबाही गरेको अनुसन्धानले देखाएको निष्कर्ष निकालेको हो ।

प्रहरीले घटनाको शंकास्पद पाटोलाई बेवास्ता गर्दा आन्दोलनले गम्भीर रूप लिएको छानबिन समितिको निष्कर्ष छ । अनुसन्धानका क्रममा भेटिएका तथ्यहरू नयाँ अनुसन्धान टोलीलाई दिइएको छ । साथै, अनुसन्धानमा खटिएका अन्य प्रहरीको पनि त्रुटि भेटिए कारबाहीका लागि सिफारिस गर्ने समितिले जनाएको छ । यता, हत्याको विरोधमा भएको आन्दोलनमा समेत बढी बल प्रयोग भएको छानबिन समितिको निष्कर्ष छ ।

दोषी पत्ता लगाउन नसकेको आरोप

कार्यक्रममा सहभागीहरूले लामो समयसम्म दोषी पत्ता लगाउन नसकेको तर, स्थानीयबासीहरुलाई अनावश्यक यातना दिएको भन्दै प्रहरीको आलोचना समेत गरेका थिए । महिला अधिकारकर्मी शारदा चन्दले उक्त घटनाको प्रमाण प्रहरी स्वयंले नष्ट गरेको आरोप लगाइन् । ‘हामीले पटक पटक घटनाको विषयका कुरा गर्दा समेत प्रहरीले सुनेनन्’ चन्दले भनिन्, ‘यसको जिम्मेवारी प्रहरीले लिनु पर्छ ।’

अर्का महिला अधिकारकर्मी मीना भण्डारीले अनुसन्धानमा लापरबाही गर्ने प्रहरी उपरीक्षक दिल्लीराज बिष्टलाई कारबाही गर्न माग गरिन् ।

आयोग भन्छः अनुसन्धानको अनुगमन गर्छौं

राष्ट्रिय मानवअधिकार आयोगले निर्मला हत्याबारे भइरहेको अनुसन्धानको अनुमगन गर्ने बताएको छ । आयोगकी प्रवक्ता मोहना अन्सारीले भनिन्, ‘यस घटनाको अनुसन्धान र अभियोजनमा प्रहरीले तदारुकता देखाउनु पर्छ ।’

काठमाडौंमा घटना भएको १० मिनेटमै आउने प्रहरीले कञ्चनपुरमा पीडितले पटकपटक आफ्नो समस्या राख्दा पनि वास्ता नगर्ने गरेको भन्दै अन्सारीले प्रश्न गरिन्, ‘के काठमाडौंका मात्रै जनता हुन्, दुरदराजमा बस्ने जनता होइनन् ?’

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.