प्रहरी प्रमुख खनाल भन्छन्-‘निर्मलाको हत्याराले उन्मुक्ति पाउँदैन’

| 2018 Sep 07 | 02:52 pm 2281

कञ्चनपुर, भदौ २२ :  प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कञ्चनपुरको निर्मला हत्या प्रकरणमा जोसुकै अपराधी भए पनि उन्मुक्ति नमिल्ने बताएका छन् ।

आजदेखि भीमदत्तनगरबाट प्रारम्भ हुन लागेको महिला हिंसा न्यूनीकरण एवं मानवअधिकार संरक्षणसम्बन्धी राष्ट्रिय अभियान कार्यक्रममा सहभागी हुन यहाँ आइपुगेका प्रहरी महानिरीक्षक खनालले अपराधीलाई कानूनी दायरामा ल्याएरै छाड्ने बताए ।

महानिरीक्षक खनालले घटनाको सुक्ष्म रूपमा विज्ञसहितको टोलीले अनुसन्धान गरिरहेको जानकारी दिएका छन् । ‘प्रहरीप्रति अविश्वास राख्नु हुँदैन’, उनले भने, ‘चाँडो नतिजा ल्याउनेमा सक्रिय छौं ।’ अनुसन्धानमा समय लागे पनि दोषीलाई कार्बाही हुनेमा ढुक्क हुन उनले आग्रह समेत गरे ।

सो क्रममा राष्ट्रिय मानवअधिकार आयोगसँग नेपाल प्रहरीले समन्वय गरेर आजबाट शुरुवात हुन गइरहेको महिला हिंसा न्यूनीकरण एवं मानवअधिकार संरक्षणसम्बन्धी राष्ट्रिय अभियानले अपराध नियन्त्रणमा बल पुग्ने उनले धारणा राखे । ‘अभियानअन्र्तगत अधिकारकर्मी, नागरिक समाजलगायत सबै सामाजिक संघसंस्थासित समन्वय गरेर अघि बढ्छौँ ।’ प्रहरी महानिरीक्षक खनालले भने, ‘न्यायमा पहुँच बढाउन समेत अभियान लाभदायक हुनेछ ।’

महिलामाथि हुने हिंसालगायत कुनै पनि अपराधजन्य कार्यको नियन्त्रण एवं न्यूनीकरणमा प्रहरी सक्रियताका साथ लागेको उनको भनाइ थियो । बिहीबार साँझ भीमदत्तनगर आइपुगेका महानिरीक्षक खनालले राति नै निर्मला पन्तका परिवारसँग भेटघाट र घटनास्थलको समेत स्थलगत निरीक्षण गरेका छन् । प्रहरी महानिरीक्षक खनालसँगै राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलीप रेग्मी पनि भीमदत्तनगर आएका छन् ।

बम दिदीबहिनीको ५ दिन म्याद थप

निर्मला पन्तको हत्याको अनुसन्धानका लागि नियन्त्रणमा लिएका रोशनी बम र वबिता बमलाई फेरि ५ दिनको म्याद थप गरिएको छ । जिल्ला अदालत कञ्चनपुरले थप सोधपुछ र अनुसन्धानका लागि फेरि ५ दिन म्याद थप गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायतले बताए ।

यसअघि पनि अदालतले सोधपुछ र अनुसन्धानका लागि एक हप्ताको म्याद थप गरेको थियो । उनीहरुको बयान लिने काम भइरहेको छ भने अरुलाई अनुसन्धानका लागि थप ५ दिनको म्याद थप गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.