तनहुँ, भदौ २२: जिल्ला कारागार तनहुँको दमौलीमा क्षमताभन्दा तेब्बर कैदीबन्दी राखिएको छ ।
कारागारको क्षमता ३५ जनाको भएपनि यहाँ अहिले ११० कैदीबन्दी रहेका छन् । भवनको क्षमताभन्दा बढी कैदीबन्दी राखेपछि सधै प्रयोग हुने शौचालय व्यवस्थापन गर्नसमेत कष्टकर भएको कारागारका निमित्त प्रमुख सक्षम घिमिरेले जानकारी दिए ।
आफूले भनेका समयमा शौच गर्न नपाई लाइनमा बसेर पालो आएपछि मात्र शौच गर्नुपर्ने अवस्था छ । एउटै कोठामा धेरै कैदीबन्दी राख्दा एउटालाई लागेको रोग अर्को व्यक्तिलाई सर्ने स्थिति रहेको छ ।
उक्त कारागारमा सबैभन्दा बढी जबर्जस्ती करणीको मुद्दाका ३५ कैदी, लागूऔषधका १८ थुनुवा, कर्तव्य ज्यान मुद्दाका १४ कैदी, ज्यान मार्ने उद्योगका ११ थुनुवा तथा चोरीमा संलग्न तीन कैदी रहेको जिल्ला कारागारले जनाएको छ ।
यस्तै कारागारमा सवारी ज्यान मुद्दा, कुटपिट, अङ्गभङ्ग, काठ ओसारपसार, बहुविवाह, अपहरण, अखेटोपहार ओसारपसारलगायत आदिका कैदी रहेका छन् ।
गत जेठदेखि त्यस कारागारमा जेलर पद पनि रिक्त रहेको जानकारी प्राप्त भएको छ ।