ललितपुर, भदौ २१ : काभ्रेका तेरसाङ लामाको घरमा लुटपाट गर्ने समुहलाई प्रहरीले पक्राउ गरेको छ । खानीखोलास्थित लामाको घरमा पेस्तोल देखाएर लुटपाटमा संलग्न पाँच जनालाई ललितपुर प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेका अभियुक्तहरुले लामालाई पेस्तोल देखाई लुटपाट गरेका थिए । लुटपाटपछि भागेका लुटेरालाई महानगरीय प्रहरी वृत्त चापागाउँ लगाएत स्थानीय चौकीहरुको सक्रियतामा पक्राउ गरिएको हो ।
बुधबार दिउँसो तीन बजे लामाको घरभित्र प्रवेश गरी पेस्तोल देखाएर नगद र जिन्सी सामान लुटी उनीहरु ललितपुरको ठूलादुर्लुङतर्फ भागेका थिए ।
लामाको घर लुटिएको थाहा पाउनसाथ महानगरीय प्रहरी वृत्त चापागाउँसहित प्रहरी चौकी गिम्दी, आश्राङ, कालेश्वर र इलाका प्रहरी कार्यालय टुंगुनबाट खटिएको टोलीले खानीखोला गाउँपालिका ७ का २८ वर्षीय अनिल घिसिङ, रमेश थोकर, जगत बहादुर गोले, तथा पनौति नगरपालिका ८ का विकास बन्जारा र निशान गोलेलाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट प्रहरीले दुई वटा पल्सर मोटरसाइकल र मेड इन चाइना लेखेको १ थान पेस्तोल, म्यागजिन एक थान र त्यसैमा प्रयोग हुने दुई राउण्ड गोली बरामद गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले पेस्तोल महांकाल गाउँपालिका ५ चन्दनपुर स्थित काफलडांडामा लुकाईराखेको अवस्थामा फेला पारेको हो ।