एक लाख ७१ हजारको आँखा उपचार

रिपोर्ट नेपाल | 2018 Sep 06 | 12:19 pm 2618

चितवन, भदौ २१: भरतपुर आँखा अस्पतालले गत आर्थिक वर्षमा आठ जिल्लाका एक लाख ७१ हजार ४०० को आँखाको उपचार गरेको छ। अस्पतालले विभिन्न जिल्लामा शिविर सञ्चालन र अस्पताल एवं आँखा उपचार केन्द्रमार्फत बिरामीको उपचार गरेको हो।

अस्पतालका सूचना अधिकारी रमेश घिमिरेका अनुसार भरतपुरमा रहेको मुख्य अस्पताल र भरतपुर हाइटमा रहेको बहिरङ्ग विभागमार्फत एक लाख १८ हजार ४५५ जना बिरामीको आँखाको उपचार गरिएको हो । विभिन्न जिल्लामा गरिएका शिविरमार्फत २२ हजार ९८५ को आँखाको उपचार गरिएको छ।

अस्पतालले चितवनसहित नवलपरासी, मकवानपुर, पर्सा, बारा, धादिङ, गोर्खा र तनहुँमा आँखा शिविर गरिएको घिमिरेले बताउनुभयो । ती जिल्लामा अस्पतालले वर्षभरमा ७६ वटा एक दिने शिविर र १६ वटा सर्जिकल शिविर सञ्चालन गरेको थियो।

नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित सो अस्पतालले गत आवमा पाँच हजार ६९६ को आँखाको शल्यक्रिया गरेको छ।

अस्पतालका अध्यक्ष कृष्णराज धरेलका अनुसार हरेक वर्ष बिरामीको सङ्ख्या बढ्दै गएको छ। आव २०७३-०७४ मा एक लाख ३४ हजार ९७९ जना आँखाका बिरामीको परीक्षण गरेको थियो । अस्पतालले मुख्य अस्पतालसहित भरतपुर हाइटमा बहिरङ्ग विभाग र नौ वटा आँखा उपचार केन्द्रमार्फत सेवा दिइरहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.