काठमाडौं, भदौ २१: भारतका पूर्वप्रधानमन्त्री एचडी देवगौडा धार्मिक भ्रमणका लागि बिहीबार काठमाडौं आउँदै छन्।
‘उहाँ नेपाल एयरलाइन्सको उडानबाट काठमाडौं आउँदै हुनुहुन्छ, यो उनको नितान्त व्यक्तिगत र धार्मिक भ्रमण हो’ भ्रमणको संयोजन गरेका अन्तराष्ट्रिय मैत्री समाज नेपालका संयोजक प्रदीप खनालले भने।
देवगौडासहित १३ जना तीर्थयात्री बैंगलोरबाट काठमाडौं आउनेछन्। श्रीमती चेन्नाममा देवगौडा, छोरा, नातिनीसहित १० जना पारिवारिक सदस्य र तीनजना मित्रसहित उनी काठमाडौं आउन लागेका हुन्। उनीसहित सबै तीर्थयात्रीलाई नेपालस्थित भारतीय दूतावासले होटेल ह्यातमा बस्ने प्रबन्ध मिलाएको छ।
शुक्रबार बिहान उनले पशुपतिनाथ दर्शन गर्नेछन्। उनलाई मूलभट्ट गणेश भट्टले विशेष वासुकीको पूजा गराउँदै छन्। देवगौडा परिवारले पशुपतिनाथ मन्दिरमा लाखबत्ती पनि बाल्ने कार्यक्रम छ।
यसअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले १५ भदौमा पशुपतिनाथ दर्शन गरेका छन् भने त्यही दिन काठमाडौं आएका भारतीय राष्ट्रिय कंग्रेसका अध्यक्ष राहुल गान्धी १६ भदौमा कैलाश मानसरोवरतर्फ लागेका छन्। देवगौडा यसपटक नेपाल भ्रमण गर्ने तेस्रो भिभिआइपी हुनेछन्।
खनालका अनुसार शुक्रबार बिहान पशुपतिनाथको दर्शन गरेर अपराह्न पाँच बजे जेट एयरलाइन्सको उडानबाट उनी भारत फर्किने कार्यक्रम छ।
दक्षिण भारतका शक्तिशाली राजनीतिज्ञ मानिने देवगौडा सन् १९९६ जुन १ देखि १९९७ अप्रिल २१ सम्म भारतका प्रधानमन्त्री थिए। भारतको कर्णाटकका पूर्वमुख्यमन्त्री भइसकेका उनी लोकसभाका सांसद पनि हुन्।
देवगौडाका छोरा एचडी कुमारास्वामी हाल कर्नाटकका मुख्यमन्त्री छन्। उनी भारतीय राष्ट्रिय कंग्रेससँगको सत्ता गठबन्धनबाट मुख्यमन्त्री भएका हुन्।