काठमाडौं भाद्र २०: बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास बिमस्टेकको चौथो शिखर सम्मेलनले जारी गरेको काठमाडौं घोषणापत्रबारे संसदीय समितिले समेत चासो देखाएको छ ।
संयुक्त सैन्य अभ्यास गर्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावबारे सहमति भए नभएको बारे सांसदहरुले चासो राखेपछि १८ बुँदे घोषणा पत्रबारे नै समितिले अध्ययन गर्न लागेको हो।
यसका लागि प्रतिनिधिसभाको अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठक बिहान ११ बजेका लागि बोलाईएको छ। विमस्टेक राष्ट्रबीच संयुक्त सैन्य अभ्यास गर्ने विषयमा प्रधानमन्त्री केपी ओलीले हिजो संसदलाई स्पष्टिकरण दिएपनि संसदीय समितिले घोषणापत्र माथि नै अध्ययन गर्न लागेको हो।
कुनै पनि एजेण्डा सहितको सैन्य क्रियाकलापमा नेपाल सहभागी नहुने प्रधानमन्त्रीले स्पष्ट पार्नुभएको थियो। विकास, वातावरण, कनेक्टिभिटि, जलवायु परिवर्तन, प्रति आतंकवाद, साईबर सुरक्षा लगायतका १८ बुँदे विमस्टेक घोषणापत्र जारी गरेको हो । बैठकमा राहदानी सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक माथि छलफल हुनेछ।
समितिले आजै राहदानी सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि दफावार छलफल थाल्दैछ । यसैबीच प्रतिनिधि सभाको बैठक दिउँसो एक बजेका लागि बोलाईएको छ।