जापानमा तुफान

सात जनाको ज्यान गयो, २ सय घाइते, दशौं हजार मानिस विस्थापित

रिपोर्ट नेपाल | 2018 Sep 05 | 09:18 am 2199

काठमाडौं, भदौ २०: जापानमा २५ वर्ष यताकै शक्तिशाली आँधी जाँदा ७ जनाको ज्यान गएको छ भने २ सय जना घाइते भएका छन्।

मंगलबार ठूलो वर्षातपछि शिकाकु टापुबाट उठेको आँधी जापानको सबैभन्दा ठूलो टापु होङ्शुतर्फ प्रतिघण्टा २१६ किलोमिटरको गतिमा बहेको थियो। जेबी नाम दिइएको आँधीले रेल्वे स्टेशनको छत खसाल्नुका साथै ट्यांकरसमेत उडाएर पुलमा ठोक्काइदिएको छ।

आँधीले उत्तर दिशा समातेकाले यो कमजोर हुने अनुमान गरिएको छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार ठूलो वर्षातका कारण कतिपय ठाउँमा पहिरोसमेत गएको छ।

आँधी र पहिरोबाट दश लाख प्रभावित भएका छन्। आँधी, बाढी र भू–क्षयको खतरा बढेपछि सरकारी अधिकारीहरुले घर छाड्न मानिसहरुलाई निर्देशन दिएका छन्।

बीबीसीका अनुसार दशौं हजारले भने यसअघि नै घर छाडेर सुरक्षित स्थान रोजिसकेका छन्। जापानी प्रधानमन्त्री सिन्जो आबेले उद्धार कार्यमा खट्न सबैलाई आग्रह गरेका छन् । उनले सतर्कता अपनाउन नागरिकलाई अपिल गरेको जापानी सरकारी टेलिभिजन एनएचकेले जनाएको छ।

आँधी र बाढीपछि सयौ हवाई सेवा, रेल तथा डुंगाहरुको सेवा रद्द गरिएको छ। बीबीसीका अनुसार ओसाकाको कान्सै अन्तर्राष्ट्रिय विमानस्थल बाढीले घेरिएको छ ।

जापान यस्ता आँधी तथा तुफानहरुको मारमा विगतदेखि नै पर्दै आएको छ । गत जुलाइमा मात्रै जापानमा गएको पहिरो तथा बाढीका कारण २ सय जनाले ज्यान गुमाएका थिए ।

सन् १९९३ मा जापानमा गएको आँधीमा परी ४८ जनाको ज्यान गएको थियो । मंगलबार गएको आँधीलाई त्यसपछिकै शक्तिशाली भनिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.