म्याग्दी, भदौ २०: म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ कोप्चेपानीस्थित धवलागिरि आधारभूत विद्यालयका फर्निचर बाढीले बगाएपछि विद्यार्थीहरु भुइँमै बसेर पठनपाठन गरिरहेका छन्।
गत साउन २९ गते कालीगण्डकीमा आएको बाढीले विद्यालय भवनका साथै फर्निचरहरु बगाएको थियो। भवन बगाएपछि कक्षा कोठा अभावका कारण पठनपाठनमा समस्या भएको प्रधानाध्यापक शान्ति राम्जालीले बताए।
“अहिले स्थानीयवासीको घरमा पठनपाठन सञ्चालन गरेका छौँ, फर्निचर नहुँदा समस्या भएको छ,” उनले भने। अहिले म्याट्रेस भुइँमा ओछ्याएर विद्यार्थी बस्ने व्यवस्था गरिएको छ । फर्निचर नहुँदा विद्यार्थीलाई लेखपढ गर्न अप्ठ्यारो भएको छ।
कालीगण्डकीले विद्यालयको ६ कोठे भवन बगाउँदा रु २५ लाख बराबरको क्षति भएको प्रअ राम्जालीले बताए। बाढीका कारण कोप्चेपानीका १० परिवार विस्थापित भएका छन्।
अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले उक्त विद्यालयलाई रु ५० हजार सहयोग गर्नुभएको छ । उहाँले विद्यालय भवन पुनःनिर्माणका लागि सो सहयोग गरेका हुन्। अध्यक्ष पुनले भवन पुनःनिर्माणका लागि प्रदेश र सङ्घीय सरकारसँग अनुरोध गरिएको बताए। उनले आफ्नो पारिश्रमिकवापतको रकम कोषमा जम्मा गरेर गरीब, विपन्न र अनाथ बालबालिकालाई सहयोग गर्दै आएको छ।
ज्यान गुमाएका परिवारलाई सहयोग
म्याग्दी प्रवासी नेपाली सङघ (मोना) दक्षिण कोरियाले रोजगारीका क्रममा विदेशमा ज्यान गुमाएका एक युवाको परिवारलाई आर्थिक सहयोग गरेको छ। संघले मंगला गाउँपालिका–५ मुसरबारीका थमबहादुर थापाको परिवारलाई मङ्गलबार रु दुई लाख ६५ हजार सहयोग गरेको हो।
थापाको दक्षिण कोरियाको अन्सान शहरमा दुई महिनाअघि दुर्घटनामा परी निधन भएको थियो। दक्षिण कोरियाबाट पठाइएको सो रकम मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका र मालिका–६ का वडाध्यक्ष सन्तनाथ सुवेदीले मृतक थापाका परिवारलाई हस्तान्तरण गरेका हुन्।